नेपालले हरायो नेदरल्याण्डलाई २ विकेटले, समूहमा तेस्रो स्थानमा नेपाल
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डमाथि २ विकेटको जित हात पार्न सफल भएको छ । नेदरल्याण्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने निकै खराव थियो । कुन ५ रन बनाउँदा ओपनर नरेश बुढायरलाई १ रनमा गुमाएको नेपालले थप रन नजोड्दा दोस्रो विकेट झर्यो । उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो बलमै आउट भए । कप्तान पारस खड्का र सुवासले ३० रनको साझेदारी गरे । तर, खकुरेल १५ रनमा आउट भएपछि पारस र विनोद भण्डारीले नेपालीको पारी अघि बढाए । विनोदसँग ३४ रनको साझेदारी गरेका कप्तान पारस खड्का १९ रनमा आउट भए । नेपालका लागि आकर्षक पारी खेलेका विनोदले ३० बलमा चार चौका र तीन छक्कासहित ३५ रन बनाउँदै नेपालको पारी अघि बढाएका थिए। त्यसपछि सागर पुन १३ र बसन्त रेग्मी ६ रनमा आउट हुँदा नेपालले ७ विकेट गुमाएर ११३ रन बनाएको थियो । तर, सोमपाल कामीले २८ बलमा तीन चौकासहित २४ रन बनाउँदा नेपालाई जितको बाटो देखाए । शरद भेसवाकर २४ र शक्ति गौचन २ रनमा अविजित रहे । यसअघि टस जितेर पहिले व्याटिङ गरेको नेदरल्याण्डले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १५८ रन बनायो । नेपाली बलरहरु हावी भएको खेलमा प्रतियोगिताको बलियो टोली नेदरल्याण्ड सुरुबाटै दबाव आएको थियो । ५४ रन जोड्दा ५ विकेट गुमाएको नेदरल्याण्डको पारी स्टफेन र मिचेल रिप्पोनले सम्हाल्ने प्रयास गरे । उनीहरुले अर्धशतकीय साझेदारी गरे । नेपालका कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामीले समान २(२ विकेट लिए । यससँगै नेपाल समूहमा दुई अंकका साथ तेस्रो स्थानमा रहेको छ भने नामिबिया ४ अंकका साथ पहिलो स्थानमा रहन सफल भएको छ।