एमाले स्थायी कमिटीको निर्णय, अवरोध छिचोलेर संविधान निर्माण प्रक्रिया अघि बढ्छ


cpn umlनेकपा (एमाले) ले संविधानसभाबाट नयाँ संविधान बनाउने आफ्नो प्रतिबद्धताबाट पार्टी विचलित नहुने जनाएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा सम्पन्न स्थायी कमिटीको बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले संविधानसभामा नियोजित रूपमा कुुर्ची तोडफोड र नेतामाथि आक्रमण भएको आफूहरूको ठहर रहेको भन्दै घटनामा संलग्नलाई तत्काल कारबाही गर्न र दोषीबाटै क्षतिपूर्ति भराउन माग गर्नुभयो । उहाँले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र सभासद् ऋषिकेश तिवारीलाई एमाओवादी र मधेसवादी दलका सभासद्ले योजनाबद्ध रूपमा प्रहार गरेको पाइएको बताउँदै घटनालाई घृणित, जङ्गली, असभ्य, अलोकतान्त्रिक, अराजक, जनताको सार्वभौमसत्तामाथिको प्रहार र अमानवीय कार्यको सङ्ज्ञा पनि दिनुभयो । संविधानका अन्तरवस्तुमा सहमतिका लागि पार्टीले लचकता देखाउँदै आए पनि एमाओवादीले समय गुजारेर संविधानसभालाई असफल बनाउने षडयन्त्र गरेकाले पार्टीले त्यस्तो योजना पूरा हुन नदिने ठहर बैठकले गरेको सचिव ज्ञवालीले बताउनुभयो । एमाओवादीलाई आत्मघाती बाटोबाट फर्काउन र प्रक्रियाबाट भए पनि संविधान ल्याउन पार्टीले सबै प्रकारका उपाय गर्ने निर्णय पनि स्थायी कमिटीले गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?