नामिबियालाई उसकै घरेलु मैदानमा पराजित गर्दै नेपाल डिभिजन वान नजिक


cricket_winनामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन–दुईमा नेपालले आयोजक नामिबियालाई पराजित गर्दै विजयी बनेको छ ।  नामिबियाको राजधानी विन्डहोेकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल नामिवियालाई ३ विकेटले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै नेपाल डिभिजन दुईमा यथावत रहने पक्का भएको छ भने डिभिजन एकमा उक्लने सम्भावना पनि प्रबल बनेको छ । यही माघ ९ गते हुने केन्याविरुद्वको खेलमा जित हासिल गर्न सके नेपाल डिभिजन एकमा उक्लने छ । त्यस्तै नेपाली क्रिकेट इतिहासमा नेपाली टोलीले नामिबियालाई पहिलो पटक पराजित गरेको हो । अहिलेसम्म नेपाल र नामिबियाबीच तीन खेल भएकामा तीनै खेल नामिबियाको पक्षमा थियो । जारी प्रतियोगितामा चार खेल खेलेको नेपालको पहिलो खेलबाहेक यो लगातार तेस्रो जित हो । यसअघि भएको दोस्रो खेलमा नेपालले चार पटक विश्वकप खेलिसकेको नेदरल्यान्ड्सलाई २ विकेटले पराजित गर्दै नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो सफलता हासिल गरेको थियो । यसअघि तेस्रो खेलमा नेपालले विश्वकप कै अनुभव बटुलिसकेको क्यानडामाथि सात विकेटको रोमाञ्चक जित निकाल्यो । प्रतियोगिताको सबैभन्दा कमजोर मानिएको अफ्रिकी प्रतिद्वन्द्वी युगान्डासँग भने नेपाल दुई रनले हार खान पुगेको थियो । दुई महिनाअघि मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन–तीनको फाइनलमा खेलमा नेपालले युगान्डालाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नामिबियाले नेपालसामु ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी व्याटिङमा उत्रेको नेपालले नामिबियाको चुनौतीलाई ३५ दशमलव ५ ओभरमा भेट्टायो । नेपालले ३५ दशमलव ५ ओभरमा सात विकेट गुमाउँदै १४६ रन बनायो । नेपालको सुरुवाती व्याटिङ भने निकै खस्केको थियो । खेलको दोस्रो ओभरमा सागर पुन सात रन जोड्दै क्याचआउट भएका थिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान सुवास खकुरेल खेलको दशौँ ओभरमा २५ बल खेल्दै चार रन बनाएर क्याचआउट हुन पुगेका थिए । नेपालका व्याट्सम्यानद्वय पुनः र खकुरेल क्याचआउट भएपछि नेपाली टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले व्याटिङ सम्हाले । दुवैले प्रतियोगितामा ८० रनको साझेदारी गरेपछि नेपालको जितको सम्भावना केही प्रबल बनेको थियो । नेपाली टोलीका कप्तान पारसले सर्वाधिक ६४ रनको योगदान दिए । ५६ बल खेलेका खड्काले तीन छक्का र ६ चौकाको मद्दतमा ६४ रन जोडेका हुन् । त्यसैगरी उपकप्तान मल्ल ३१ रन जोड्दै आउट भए । ७३ बल खेलेका मल्लले दुई चौकाको सहयोगमा ३१ रन जोडे । नेपाली टोलीका अर्का व्याट्सम्यान शरद भेषवाकर १० बलमा ७ रन जोड्दै आउट भए भने आरिफ शेख एक रन जोड्दै पेभिलियन फर्के । यसैगरी, विनोद भण्डारीले १८ रन जोडे भने बसन्त रेग्मीले ५ रन र सोमपाल कामी २ रनमा अविजित रहे । नामिबियालाई सस्तैमा समेट्ने क्रममा पहिलो पटक राष्ट्रिय टिमबाट डेब्यु गरेका करन केसी एक्लैले तीन विकेट लिए । ६ दशमलव १ ओभर बलिङ गरेको केसीले १२ रन खर्चदै तीन विकेट लिएका हुन् । क्यानडाविरुद्वको खेलमा पनि केसी  एक्लैले पाँच विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी, वसन्त रेग्मी र शक्ति गौचनले समान दुई÷दुई विकेट लिए । नामिबियाका लागि भने भान स्कुरले सर्वाधिक २८ रनको योगदान दिए । त्यस्तै पि कोट्जेले २७ रन जोड्नुबाहके अन्य व्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?