अख्तियारले समात्यो बानेश्वरका डिएसपीलाई, ५० हजार घुस लिँदालिँदै च्याप्प
प्रहरी नायब उपरीक्षक रमेश तामाङलाई रु ५० हजार घुस लिँदै गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ । तामाङलाई घुस लिँदै गरेको अवस्थामा काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैबाट पक्राउ गरिएको आयोगका सहप्रवक्ता केशव घिमिरेले जानकारी दिनुभयो । तामाङलाई अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ ।
विद्यालयका अध्यक्ष र प्रअमाथि मुद्दा
आयोगले रौतहटको गोनाही–३ प्रेमपुरस्थित कटहरिया स्रोत केन्द्रअन्तर्गतको दलित प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले मिलोमतो गरी अनियमितता गरेको पाइएपछि आज उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो विद्यालयका प्रअ शम्भुलाल हजारालाई रु १३ लाख ५६ हजार १९ बिगोसहित मुद्दा दायर गरिएको छ । यस्तै अध्यक्ष हरिभजन पासवानसँग बिगो रु चार लाख १० हजार २५७ र शिक्षक जियालाल पासवानसँग रु नौ लाख ३ हजार ४४ बिगो माग गरिएको छ । उनीहरुविरुद्ध विभिन्न आवमा भौतिक निर्माण, पाठ्यपुस्तक, छात्रवृत्ति, प्रतिविद्यार्थी लगानी, तलबजस्ता शीषर्कको अनुदान रकममा अनियमितता गरी सरकारी हिनामिना गरेको आरोपसहित मुद्दा दायर भएको आयोगले जनाएको छ ।