संविधानसभामा एमाओवादीसहितको मोर्चाले भाँजो हाल्यो – अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाको बैठकलाई अगाडि बढाउने प्रयासमा एकीकृत नेकपा (माओवादी) सहितको मोर्चाले भाँजो हालेको बताउनुभएको छ । संविधानसभाको बैठक अवरोध भएपछि केहीबेर सभाहलबाट बाहिर निस्कनुभएका अध्यक्ष ओलीले भन्नुभयो – “हामीले आजै संविधान जारी गर्न खोजेका हौैँ तर एमाओवादीसहितको मोर्चाले भाँजो हाल्यो ।” संविधान बनाउन नदिन उनीहरूले संविधानसभामा बितण्डा मच्चाएको उल्लेख गर्दै उहाँले भन्नुभयो – “माओवादी सप्रेको जस्तो लागेको थियो, त्यसो भएको रहेनछ ।” अध्यक्ष ओलीले माइक भाँचेर छातीमा हान्दैमा संविधान लेखन कार्य नरोकिने बताउँदै मुलुकलाई समाधान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रतिपक्षलाई वार्तामा आउन आग्रह गरे पनि उनीहरू आन्दोलन र नाराबाजी गर्नमै उद्यत रहेको प्रतिक्रिया दिनुभयो । अध्यक्ष ओलीले मोर्चाबाट अवरोध भए पनि आज केही न केही समाधान दिन आफूहरू तयार रहेको स्पष्ट पार्दै भन्नुभयो, “आज केही न केही समाधान दिनुपर्छ, त्यसका लागि हामी प्रतिबद्ध छौँ ।”