के भयो राजनीतिक दलका नेताहरुको बैठकमा ? माघ ८ गुज्रियो, अब के होला ? शुक्रबार १ बजेसम्मका लागि संविधानसभा बैठक स्थगित
नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, मधेशी मोर्चाको बिहीबार साँझ संविधानसभा भवनमा बसेको बैठकमा कुनै सहमति जुट्न नसकेपछि अन्ततः संविधानसभाबाट संविधान जारी गर्नकालागि दलहरु आफैंले तोकेको समयसीमा त्यतिकै गुज्रिएको छ । यससँगै दलहरुलाई अझ बढी दूरीमा लैजाने देखिएको छ । बैठकपछि संविधानसभा बैठक चलिरहँदा र विपक्षीले अवरोध गरिरहँदा बाहिरिनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई सम्झाउन नसकेका कारण सहमति बन्न नसकेको आरोप लगाउनुभयो । आपूmहरु लचकतापूर्वक प्रस्तुत भएपनि प्रचण्डले मोर्चाका सदस्य दलहरुलाई सम्झाउन नसकेको उहाँको भनाई थियो । यसैगरी बैठकबाट बाहिरिने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नाराबाजी गर्नेबित्तिकै बैठक अबरुद्ध भइसकेकोले सभामुखले तत्कालै बैठक रोक्नुपर्दथ्यो भन्ने प्रतिक्रिया दिएका छन् । यसरी होहल्ला जारी राखेर सभामुखले संविधानसभाप्रति नै वितृष्णा फैलाउने काम गरेको उनले बताए । यसैगरी बाहिरिने क्रममा अर्थमन्त्री एवं काँग्रेस नेता डा. रामशरण महतले आपूmहरु अझै पनि वार्ताबाटै अघि बढ्न तयार रहेको भएपनि त्यस्तो बाटो सकिँदै गएको बताउनुभयो । उहाँले प्रक्रियामा जाउँ भन्दा विपक्षीहरु नमानेको बताउनुभयो । यसैगरी एमाले नेता माधवकुमार नेपालले संविधानसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै संविधानसभाध्यक्षलाई प्रक्रियमा लैजानका लागि आग्रह गरिसकिएको र त्यसै अनुसार मुलुक अघि बढ्ने बताउनुभयो । अर्कोतर्फ, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा सहमतिको वातावरण बन्दै गएकोबताउनुभयो । उहाँले विवादित विषयको अन्तरवस्तुमै छलफल सुरु भएकोले केही दिन मागेर भएपनि तत्कालै सहमति गर्न सकिने अवस्था देखेको बताउनुभयो । यसका लागि सत्तारुढ दलहरुले बहुमतको दम्भ त्याग्नुपर्ने बताउनुभयो । दलहरुबीच भएको बैठकमा मिलेका कुरालाई मस्यौदा समितिमा कसरी पठाउने, रिजर्भेसन राख्ने भनिएको शासकीय स्वरुपको विषय पनि मस्यौदा समितिमा पठाउने कि नपठाउने भन्ने विषयमा मुख्य विवाद भएको थियो । यसपछि एमाओवादीले वक्तव्य जारी गरी अहिलेको विषयमा जनतालाई जानकारी गराउने कुरा पनि ओझेलमा परेको थियो । मधेशी मोर्चाका नेता विजयकुमार गच्छदारले सहमति भएका चारवटै विषयलाई मस्यौदा समितिमा पठाउने र ६ देखि ९ प्रदेशसम्म रहने गरी टुंग्याउन एक महिनाको समय लिने बताउनुभएको थियो । तर, यस विषयमा एमाले अध्यक्षले सबै विषयमा सहमति भए मात्र तिनलाई मस्यौदा समितिमा पठाउने अन्यथा वक्तव्य जारी नगर्ने बताएको सहभागी एक नेताले जानकारी गराएका छन् । यस बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थिएन । यसैबीच, निरन्तर करिब तीन घण्टा नाराबाजी भएपछि संविधानसभाध्यक्ष सुवास नेम्वांगले बैठक शुक्रबार १ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी गराउनुभएको थियो।