बहुमतको दम्भमा प्रतिगामी संविधान ल्याउने प्रयास भयो : प्रचण्ड
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा भवन बाहिर निस्कदै गर्दा दिनुभएको प्रतिक्रिया
“सर्वप्रथम त म माघ ८ गते संविधान जारी गर्ने प्रतिबद्धता जुन हामीले व्यक्त गरेका थियौं । र, अन्य राजनीतिक दलहरुले पनि व्यक्त गरेका थिए त्यस अनुसार संविधान दिन सकेनौं यसको निम्ति आम सर्वसाधारणसँग क्षमायाचना गर्न चाहन्छु । हाम्रो पनि प्रतिबद्धता थियो । १० वर्ष लामो जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन लगायत विगतमा भएको सबै आन्दोलनहरुमा जे अपेक्षा जनताले गरेका थिए र अन्तरिम संविधानमा, विस्तृत शान्ति सम्झौतामा र अन्य सहमतिमा जे जस्तो संविधान दिने भनिएको थियो त्यसको विपरित माघ ८ गते नै प्रतिगामी प्रकृतिको संविधान दिने दुस्साहस बहुमतको दम्भमा काँग्रेस र एमालेले दिन खोज्दै थिए । तर, तिनीहरुलाई सफल हुन हामीले दिएनौं । शान्ति सम्झौता, अन्तरिम संविधान र विभिन्न सझौताहरुमा व्यक्त भएका प्रतिबद्धता अनुसार नै हामीले अघि बढ्न अडान राख्यौं । उनीहरुको षड्यन्त्र अनुसार प्रतिक्रियावादी संविधान बन्न नदिएकोमा हामीलाई गर्व छ । हामी प्रगतिशील संविधान बनाउने पथमा छौं र यसमा साथ दिन जनतालाई अपिल गर्न चाहन्छौं । अन्तिम सम्म पनि हामीले सहमतिको कोसिस गर्यौं । अन्तिम सम्म पनि हामीले जनतालाई निरास नपारौं, विभिन्न विषयमा भएका सहमति जस्तो निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरुपमा रिजर्भेसन राखेरै भएपनि अघि जाउँ संघीयताको विषयमा केही समयभित्रमा नै टुंग्याउँछौं भनेर हामीले काँग्रेस र एमालेका नेताहरुलाई भन्यौं । तर, उहाँहरुले त्यसलाई मान्नुभएन । एउटा राजनीतिक सहमति जो बनेको छ । सहमतिको राजनीतिक वक्तव्य दिउँ भन्दा पनि उहाँहरु तयार हुनुभएन । तर, प्रतिगमनकारी संविधान, पछि हटेको संविधान बनाउन सक्छौं भन्दै बहुमतको दम्भमा उहाँहरुले अघि बढ्न खोज्नुभयो । अन्तिममा म के भन्न चाहन्छु भने यति हुँदाहुँदै पनि सम्वादबाट सहमतिबाट संविधान अघि बढाउने प्रयास जारी रहन्छ । वार्ता जारी रहन्छ । १९ दलकोबीचमा कुनै किसिमको विवाद छैन । हामी एकढिक्का छौं यो गलत हो । “