काँग्रेसले देशका सबै पार्टी कार्यालयमा सूचना र प्रविधिको पहुँच विस्तार गर्ने
नेपाली काँग्रेसले पार्टी सङ्गठनलाई मजबुत बनाउँदै जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउन देशका सबै जिल्ला पार्टी कार्यालयमा सूचना र प्रविधिको पहुँच विस्तार गर्ने भएको छ । काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काँग्रेसका ७५ वटै जिल्ला कार्यालयका कार्यालय सचिवहरूलाई सूचना प्रविधि र कार्यालय सञ्चालनसम्बन्धी प्रशिक्षण दिन लागेको हो । केन्द्रीय कार्यालय सानेपामा प्रशिक्षणमा विज्ञहरूले सूचना प्रविधि, सूचना प्रवाह, अभिलेखीकरण र सङ्गठन सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिकाबारेमा प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणकै अवसरमा पार्टीको ७५ वटै जिल्ला कार्यालयलाई एक–एक थान कम्प्युटर हस्तान्तरण गरिने प्रतिष्ठानका निर्देशक मधु आचार्यले जानकारी दिनुभयो । प्रशिक्षणमा ७५ जिल्लाका कार्यालय सचिवहरूको सहभागिता रहने छ । प्रशिक्षणको उद्घाटन सत्रमा प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइराला, उपसभापति, महामन्त्री एवम् वरिष्ठ नेताहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । सो प्रतिष्ठानले यसअघि पार्टी सङ्गठन सुदृढीकरणका लागि विभिन्न कार्यक्रम चलाउँदै आएको छ ।