प्रहरीलाई नै फोन गरेर जिस्क्याउने दुई महिलासहित चारजना पक्राउ, १०० नम्बरमा फेक कल आएर प्रहरी हैरान
साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ । गोरखाका दुईजना, छिमेकी जिल्ला लम्जुङ र धादिङका एक÷एकजना गरी चारजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले जानकारी दिनुभयो । सय नम्बरमा मोबाइल वा फोन सेटबाट फोन गर्दा पैसा नलाग्ने भएकाले उनीहरूले बारम्बार लगातार फोन गरेर पुलिस जिस्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । प्रहरीले पुलिस जिस्क्याएको आरोपमा गोरखा नगरपालिका–४ की सङ्गीता उपरकोटी, केराबारी गाविसका सुकबहादुर विश्वकर्मा, लम्जुङ गैँडा गाविसका कुमार विश्वकर्मा तथा धादिङ धुवाँकोट गाविसकी रीता लामालाई पक्राउ गरेको जनाएको छ । १०० नम्बरमा फोन गरेर जिस्क्याउने, झुठा सूचना दिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये अधिकांशले एनसेल मोबाइल सेवा प्रदायक कम्पनीको सिम बोकेको प्रहरीले जनाएको छ । गत एक वर्षअघिदेखि जिल्ला प्रहरी कार्यालय गोरखामा रहेको आकस्मिक फोन सेवामा जिस्क्याउने, झुठा सूचना दिने फोन आउन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेका उनीहरूलाई अनुसन्धान गरेर अबदेखि यस्तो नगर्ने सर्तमा छाड्ने तयारी प्रहरीले गरेको छ । “गल्ती नदोहो¥याउने सर्तमा छाड्छौँ”, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो ।