उत्तर कोरियाली नेता किमले मे महिनामा मस्कोको भ्रमण गर्ने, पहलो विदेश भ्रमणमा किम


kimउत्तर कोरियाली नेता किम जोङ–उनले मस्कोमा मे महिनामा आयोजना हुने दोस्रो विश्वयुद्धको समारोहमा भाग लिने क्रेमलिनले जानकारी दिएको छ । सन् २०११ मा उहाँले शासन आफ्नो नियन्त्रणमा लिएपछि यो उहाँको पहिलो विदेश भ्रमण हुने बताइएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले इन्टरफ्याक्स समाचार संस्थालाई उत्तर कोरियाली नेताको सहभागिता पुष्टि भएको र आफूहरूले उहाँको आगमनको तयारी गरिरहेको जानकारी दिनुभयो । पेस्कोभले उत्तर कोरियाली नेताका साथमा धेरै विदेशी नेताले उक्त समारोहमा भाग लिने पुष्टि गरेको जानकारी दिनुभयो । उहाँले यस विषयमा थप जानकारी दिनुभएन । दोस्रो विश्वयुद्धमा नाजी जर्मनमाथि सोभियत सङ्घको विजयको ७० औँ वार्षिकोत्सवमा आयोजना हुने समारोहमा रसियाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि आमन्त्रण गरेको छ । आफ्ना पिता किम जोङ–इलको देहावसानपछि शासन सम्भालेका किमले पहिलो विदेशभ्रमणका रूपमा मस्कोको भ्रमण गरेमा उहाँले आफ्नो मुलुकको चीनसँगको निर्भरता कम गर्न चाहनुभएको देखिनेछ । हालसम्म चीन प्योङयाङको प्रमुख सहयोगी, कूटनीतिक संरक्षक तथा आर्थिक आश्रयको रूपमा रहेको छ । मस्कोमा आयोजना हुने समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पनि सहभागिता हुने अपेक्षा गरिएको छ । सी तथा किम शासनमा आउनुभएपछि उहाँहरूले आफूलाई पृथक राख्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले कोरियाली प्रायःद्वीपको पहिलो भ्रमणको रूपमा गत वर्ष उत्तर कोरिया नपुगी पूँजीवादी दक्षिण पुग्नुभएको थियो । दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेलाई पनि मस्कोको समारोहमा आमन्त्रण गरिएको छ । उहाँ उक्त भ्रमणमा जाने हो वा होइन भन्ने उहाँको चाहना घोषणा भएको छैन । संयुक्त राष्ट्र सङ्घले प्योङयाङलाई उसको मानवअधिकारका अवस्थाका लागि हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाउन गरेको आग्रहलाई रसिया तथा चीन दुबैले अस्वीकार गरेका छन् । उत्तर कोरियाका पूर्व नेता किम जोङ–इलले सन् २०११ को अगस्तमा रेलमा यात्रा गरी रसियाली राष्ट्रपति दिमित्री मेदभेदेभसँग भेट गर्नुभएको थियो । रसियाले उत्तर कोरियासँग आर्थिक सम्बन्ध विस्तार गर्न चाहेको छ र उसको रेल सञ्जाललाई पुननिर्माण गर्न २५ अर्ब अमेरिकी डलर बराबरको परियोजनामा ध्यान दिएको छ । यसका लागि रसियाले उत्तर कोरियाको खनिज स्रोतमा पहुँच चाहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?