श्रीलंकामा उल्टो नदी बग्दै, राजापाक्षेले अनुमति दिएका क्यासनो बन्द गर्ने निर्णय


sri lankaश्रीलङ्काका प्रधानमन्त्री रनिल बिक्रमासिंघेले त्यहाँका अति सुविधा सम्पन्न (लक्जरी) होटलमा सञ्चालनमा रहेका क्यासिनो (जुवाघर) बन्द गरिने जानकारी दिनुभएको छ । उहाँले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काको अर्थतन्त्रमा नै राम्रो आम्दानी गराउन सफल क्यासिनोलाई सरकारले अकस्मात बन्द गर्ने निर्णय आज गरेको हो । पहिलो चरणमा विदेशी लगानीमा सञ्चालित क्यासिनोहरू बन्द गराइने घोषणा प्रधानमन्त्रीले बिहीबार गर्नुभएको बताइएको छ । उहाँले विदेशी लगानीका तीन लक्जरी होटलका क्यासिनो बन्द गरिने जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उहाँका अनुसार ती होटलमा सञ्चालित जुवाघरका कारण श्रीलङ्कामा नराम्रो प्रभाव परेको भन्दै सो निर्णय गरिएको उहाँले बताउनुभयो । ती क्यासिनोहरू बन्द गर्न श्रीलङ्काका बौद्धभिक्षुहरूले लामो समयदेखि नै माग गर्दै आएका थिए । तर पहिलाको सरकारले बन्द गर्न मानेको थिएन । ती तीनवटै होटल राजधानी कोलम्बोमा स्थापना गरी क्यासिनो सञ्चालन गर्न पूर्व राष्ट्रपति महिन्दा राजापाक्छेले अनुमति दिनुभएको थियो । यही जनवरी ८ मा भएको राष्ट्रपतीय निर्वाचनमा मैत्रीपाला सिरिसेना विजयी हुनुभएको हो । उहाँलाई बौद्धभिक्षुहरूको पनि ठूलो सहयोग रहेको थियो । त्यसैले यो सरकारले आफ्नो कार्यभार सम्हालेको सुरुवातीमै विवादास्पद ती क्यासिनो बन्द गर्ने निर्णय भएको बताइएको छ । वर्तमान सरकारले पूर्व राष्ट्रपति राजपाक्छेको कार्यकालमा भएका कयौँ काम उल्टाउन थालेको छ । वर्तमान सरकारले हिजोमात्र पूर्व राष्ट्रपति राजपाक्छे सरकारले महाअभियोग लगाई बर्खास्त गरेका तत्कालीन प्रधानन्यायाधीशलाई पनि पुनःस्थापना गरेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?