भक्तपुरमा तीन श्रष्टाको सम्मान, कृतिको पनि लोकार्पण
भक्तपुरमा साहित्यको विकासमा उल्लेख्य भूमिका खेल्दै आएको भक्तपुर साहित्यिक समाजले भक्तपुरमा तीन श्रष्टालाई सम्मान गरेको छ । भक्तपुर साहित्यिक समाजले आज यहाँ आयोजना गरेको सम्मान एवम् कृति लोकार्पण कार्यक्रममा भक्तपुर सुडाल निवासी साहित्यकार हरिहर तिमिल्सना, चौतारा–८ सिन्धुपाल्चोकका साहित्यकार एवम् कलाकार अमित घिमिरे र इमाडोल–२ ललितपुर बस्ने साहित्यकार मणिराज सिंहलाई सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार तेजेश्वरबाबु ग्वङ्गले तीनैजना श्रष्टालाई ताम्रपत्रसहित भाद्गाउँले टोपी र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । त्यसैगरी, कार्यक्रममा साहित्यकार ग्वङ्गले ७६ वटा गीत सङ्ग्रह भएको गीतकार सानु ऋक्षश्रीको गीतसङ्ग्रह ‘आँशुको बगर’को लोकार्पण गर्नुभयो । कार्यक्रममा साहित्यकार ग्वङ्गले साहित्यको विकास र साहित्यकारको सम्मानमा राज्यले उचित ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुर विकास सहयोग समितिका अध्यक्ष कृष्णलाल प्रधान, सम्मानित श्रष्टा तिमल्सिना, घिमिरे, सिंह, सृजना अभियानका अध्यक्ष एवम् कथाकार धनमान श्रेष्ठ, गीतकार ऋक्षश्री, समाजका सचिव एवम् साहित्यकार जितेन्द्र रसिकलगायतले साहित्यले देश परिवर्तनमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
भजन शिरोमणी आचार्य सम्मानित
यसैबीच, ओमज्ञान मन्दिर सेकेन्डरी स्कुल लोकन्थली, भक्तपुरले यस वर्षको ‘ओम ज्ञानमन्दिर सम्मान २०७१’ बाट वरिष्ठ गायक एवम् भजन शिरोमणी भक्तराज आचार्यलाई सम्मान गरेको छ । भक्तपुरको लोकन्थलीमा रहेको विद्यालयको २० आँै वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा आज भजन शिरोमणी आचार्यलाई रु १० हजार एकसहित विद्यालयका प्रधानाध्यापक रामप्रसाद सुवेदीले सम्मान गर्नुभएको हो । विद्यालयले यसअघि राष्ट्रकवि माधव घिमिरे, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, सङ्गीतकार रोशनकुमार राजभण्डारी, वरिष्ठ पत्रकार जयदेव भट्टराई, युवाकवि देवी नेपाल, सङ्गीतकार अम्बर गुरुङ, वरिष्ठ गायक फत्तेमान राजभण्डारी र गायक प्रेमध्वज प्रधानलाई नगदसहित सम्मान गरिसकेको छ ।