सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धता आए वार्तामा बस्न एमाओवादी तयार, वार्ताप्रक्रिया सरकारले अबरुद्ध गरेको भनाई
एकीकृत नेकपा (माओवादी) ले सहमतिमा नै संविधान जारी हुने अवस्था आए आफूहरू सम्वादका लागि तयार रहेको बताएको छ । सत्तारुढ दलले बहुमतको आधारमा सुरु गरेको प्रक्रियालाई खारेज गरेर वार्ताका लागि आह्वान गरे आफूहरूले वार्तामा बस्दैनांै नभनेको समेत सो दलले जनाएको छ । एमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले वार्ता प्रक्रिया सत्तारुढ दलले नै अवरुद्ध गरेका कारण समस्या पैदा भएको तर्क गर्नुभयो । प्रवक्ता शर्माले भन्नुभयो, ‘‘सम्वादको प्रक्रिया सुरु गर्ने हो भने प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिकरूपमा आह्वान गर्नुपर्छ र विगतका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुपर्दछ ।’’ सहमतिमा संविधान जारी हुने वातावरण पनि नबनाउने र निरन्तर प्रक्रिया अगाडि बढाउने भए आफूहरू आन्दोलनमा जानुको विकल्प नभएको उहाँको भनाइ थियो । गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता तथा समानुपातिक प्रतिनिधित्व आफ्नो पार्टीको एजेण्डा भएको जिकिर गर्दै प्रवक्ता शर्माले एजेण्डा स्वीकार गर्ने, एमाओवादीलाई अस्विकार गर्ने प्रवृत्ति गलत भएको धारणा राख्नुभयो । सम्वादका लागि विश्वासिलो वातावरण बनाउने जिम्मा सरकारको भएको भन्दै प्रवक्ता शर्माले फेरि पनि अल्मल्याउने र धोकाधडी हुने स्थिति आए वार्ताका लागि वार्तामा नबस्ने जिकिर गर्नुभयो । पत्रकार सम्मेलनमा एमाओवादीका नेता लिलामणि पोखरेलले नेपाली काँग्रेस र नेकपा (एमाले) का नियत खराब भएको भन्दै जनताको अधिकार स्थापित गर्नका लागि आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । विगतमा आान्दोलनहरू सबै सम्झौतामा टुङ्गो लागेका कारण जनताले अधिकार प्राप्त गर्न नसकेको भन्दै उहाँले अबको आन्दोलन सम्झौतारहित हुने धारणा राख्नुभयो ।