ईजिप्टमा फुटबलको कालो दिन, भागदौडमा परी २२ जनाको ज्यान गयो, फुटबल स्थगन


ruters_footballइजिप्टको राजधानी कायरोमा फुटबल म्याच हेरिरहेका दर्शकबीच भएको भागदौडमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । क्लबको म्याचमा विशेषगरी आआफ्ना क्लबका समर्थकले सो भागदौड गरेका थिए । उक्त भागदौडमा परी आइतबार राति नै २२ जनाको ज्यान गएको हो । उक्त भीडमा परी थिचिएर र उकुसमुकुसका कारण अरू २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएको प्रहरीले जनाएको छ । मारिनेमा त्यहाँको स्थानीय क्लब जामलेक क्लबका समर्थक बढी परेको बताइएको छ । उनीहरू टिकट नै नलिइ रातिको सो म्याच हेर्न पुगेका प्रहरीले जनाएको छ । इजिप्टको राजधानी कायरोको सुरक्षित मानिएको र सुविधा सम्पन्न एयर डिफेन्स स्टेडियममा क्लबको उक्त म्याच भएको थियो । उक्त स्टेडियमको बाहिर पुगेका दर्शकहरूले बिनाटिकट नै भित्र पस्न पाउनुपर्ने भनी हुलहुज्जत गरेकाले प्रहरीले पनि अश्रुग्यास हानेको समाचारमा जनाइएको छ । त्यसपछि भागदौड सुरु भएको त्यहाँ म्याच हेर्न पुगेका दर्शकले बताएका छन् । प्रहरीको कारबाहीका कारण नै त्यहाँ तनाव उत्पन्न हुन पुगेको समाचारमा जनाइएको छ । त्यहाँका जामालेक र इन्पी क्लबको सो म्याचमा ती क्लबका समर्थकहरूका बीच सो भागदौड र हुल भएको थियो । प्रहरीले कतिपय व्यक्ति त्यहाँ उकुसमुकुस भएकाले मारिएका जनाएको छ । इजिप्टको गृह मन्त्रालयले सो स्टेडियममा बढीमा १० हजार जना बस्नसक्ने क्षमता रहेको भए पनि त्यहाँ जमालेकका समर्थक निकै नै ठूलो सङ्ख्यामा आएकाले सो अवस्था आएको बताएको छ । इजिप्टको सरकारी समाचार समिति मेनाले दिएको जानकारीअनुसार सो घटनामा परी घाइते भएकाहरूको अङ्गभङ्ग भएको छ । उनीहरूको शरीर पनि सयौँले कुल्चिएर भाग्दा अङ्गभङ्ग भएका थिए । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अधिकांश घाइतेहरूको ढाड भाँचिएको छ भने केहीका हातखुट्टा भाँचिएका छन् । यो हिंसापछि उक्त राष्ट्रिय म्याच तत्कालै स्थगित गरिएको छ । अर्को सूचना नभएसम्मका लागि सो म्याच स्थगित गरिएको सरकारी प्रवक्ताले जनाएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?