पाँच लाखमा बन्ने भो नरेन्द्र मोदीको मन्दिर गुजरातमा, दिनदिनै पूजा गरिने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक मन्दिर उहाँकै गृहराज्य गुजरातमा खुला हुने भएको छ । यो मन्दिर उहाँका कडा समर्थकले तयार गरेको बताइएको छ । यो मन्दिर आइतबार कोठारिया गाउँमा औपचारिक रूपमा खुला हुनेछ । यसमा प्रधानमन्त्री मोदीको मूर्ति राखिएको छ र त्यसलाई उहाँका समर्थकहरूले दैनिक रूपमा पूजा गर्नसक्ने बताइएको छ । अहमदाबादबाट २१० किलोमिटर पर गाउँमा उक्त मन्दिर निर्माण गर्न मोदीका करिब ३५० भक्तले साना रूपमा चन्दा सङ्कलन गरिरहेका थिए । एक भक्त रमेश उन्धादले यसअघि आफूहरूले भारतमाताको पूजा गरिरहेको र गत केही वर्षदेखि मोदीको पूजा गरिरहेको जानकारी दिनुभयो । यस परियोजनाका प्रमुख रमेशले आफूहरूले पहिले भारतमाताको पूजा गर्दा पनि मोदीको तस्वीर पछाडि राखेर गरेको बताउनुभयो । गुजरातमा लामो समयसम्म मुख्यमन्त्री रहनुभएका मोदी गत मे महिनामा राष्ट्रिय रूपमा शासनमा आउनुभएको थियो । उहाँले मोदी लहरको रूपमा अनेकौँ सभालाई शक्तिशाली रूपमा सम्बोधन गर्नुभएको थियो । यसो भए पनि ६४ वर्षीय प्रधानमन्त्री मोदीको दलले दिल्लीको स्थानीय निर्वाचनमा पराजय भोग्नुपरेको छ । यो उहाँ मुलुकको शासनमा पुगेपछिको पहिलो पराजय हो । कोठारिया गाउँले भने उहाँलाई निरन्त रूपमा समर्थन दिएको छ । रमेशले मोदी गुजरातको मुख्यमन्त्री भए पछि उहाँलाई भगवानको रूप मानेको र राम्राका लागि परिवर्तनहरू हुन थालेको बताउनुभयो । चारदेखि पाँच लाख रूपैयाँमा तयार भएको उक्त मन्दिर आइतबार एक समारोहमा स्थानीय सांसदहरूले उद्घाटन गर्ने बताइएको छ ।