श्रीलङ्काली राष्ट्रपति भारतको पहिलो भ्रमणमा नयाँ दिल्लीमा
श्रीलङ्काली नयाँ राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार भारत आइपुग्नुभएको छ । यो उहाँ यस पदमा पुगेपछिको भारतको पहिलो भ्रमण हो र यसबीच उहाँले रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको आफ्नो द्वीप मुलुकमा चीनको प्रभाव बढेको भनी देखिएको तनाबबीच नयाँ दिल्लीसँग सम्बन्ध पुनः निर्माण गर्न प्रयास गर्नुहुने बताइएको छ । श्रीलङ्काली राष्ट्रपति सिरिसेना चार दिने भ्रमणमा नयाँ दिल्लीमा अवतरण हुनुभएको हो । पूर्व राष्ट्रपति महिन्दा राजापक्षेको एक दशक लामो शासनमा चीनको प्रभाव बढेको भन्ने आशङ्का भारतमा रहेको बताइएको छ भने त्यसलाई कम गर्न उहाँले प्रयास गर्नुहुनेछ । गत महिना श्रीलङ्कामा भएको निर्वाचनमा सिरिसेनाले राजापक्षेलाई पराजित गर्नुभएको थियो । उहाँले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुहुनेछ र उहाँको सम्मानमा भोजको आयोजना हुनेछ । राष्ट्रपति सिरिसेनाका साथमा प्रथम महिला जयन्ती पुष्पा कुमारी पनि हुनुहुन्छ र उहाँलाई भारतमा जहाजसम्बन्धी सहायकमन्त्री पी. राधाकृष्णनले विमानस्थलमा स्वागत गर्नुभयो । भारतले धेरै लामो समयसम्म श्रीलङ्कालाई आफ्नो प्रभावको क्षेत्रको रूपमा लिएको थियो । चीनले श्रीलङ्कामा आधारभूत संरचनाका परियोजनामा निकै ठूलो रकम लगानी गरेको छ र ऊ यस मुलुकको सबैभन्दा ठूलो वित्तीय दाताको रूपमा रहेको छ । उसले तत्कालीन राष्ट्रपति राजापक्षेअन्तर्गत महत्वपूर्ण राजनीतिक तथा सैनिक प्रभाव कायम गरेको बताइएको छ । आलोचकहरूले चीनले हिन्द महासागरवरपर आधारभूत संरचना विकास गर्न प्रयास गरिरहेको र उसले एसियाली प्रतिद्वन्द्वी भारतको तुलनामा आफूलाई अगाडि बढाइ आफ्नै आर्थिक अभिरुचि सुरक्षित गर्ने रणनीति बनाएको आरोप लगाएका छन् । श्रीलङ्काली राष्ट्रपति सिरिसेनाको आगमनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता सयद अक्बरुद्दिनले पहिलो भमणले दिशा तय गर्न अवसर प्रदान गर्ने र उहाँलाई दिल्लीमा न्यानो स्वागत गरिने बताउनुभयो । यहाँले यस भ्रमणमा संरचना तथा घोषणाका अर्थमा ठोस वार्ता हुने र सम्झौता हुने आफूले अपेक्षा गरेको बताउनुभयो । श्रीलङ्काली राष्ट्रपति सिरिसेनाले आफ्नो मुलुकमा भारतको ठूलो लगानी प्राप्त गर्ने प्रयास गर्नुहुनेछ । श्रीलङ्काले करिब चार अर्ब अमेरिकी डलर भन्दा बढी रकमको अन्तर्राष्ट्रिय जमानत खोजेको उल्लेख गरेको थियो । उहाँ बुधबार स्वदेश फिर्ता हुनुपूर्व बौद्ध तीर्थस्थल बोधगया तथा तिरूपतिमा रहेको हिन्दु मन्दिर जागुहुने कार्यक्रम रहेको छ ।