सिड्नीमा समुद्रमा डुबी एक नेपाली युवकको मृत्यु, पोष्र्टमार्टम गरिँदै
न्यू साउथवेल्सको सेन्ट्रल कोस्टस्थित एभोका तटमा गएका एक युवाको समुद्रमा डुबेर मृत्यु भएको छ । दिउँसो करिब एक बजेतिर तीन साथी समुद्री तटमा फुटबल खेल्दै, पौडदै गर्दा यो घटना भएको हो । तीनमध्ये सिड्नीको एसफिल्डमा बस्दै आएका लोमस पराजुलीको डुबेर मृत्यु भएको हो । उनी २६ वर्षका थिए । उनको घर नेपालमा विराटनगरमा रहेको बताइएको छ । छेउमै पौडी खेल्दै गरेका पराजुली अचानक कसरी डुब्न पुगे भन्ने कुराको केही जानकारी आउन सकेको छैन । घटनालगत्तै प्रहरी र गोताखोरको सहयोगमा उनलाई अस्पताल लैजाँदा डाक्टरहरुले मृत घोषणा गरेका थिए । यसअघि पानीबाट निकाल्ने वित्तिकै उनको प्राथमिक उपचार गरिएको भएपनि सफल हुन सकेन । उनको शव यतिबेला गोस्फोर्ड अस्पतालमा राखिएको छ भने पोष्टमार्टम गर्ने तयारी गरिएको छ । पराजुलीका आफन्त, साथीभाई, नेपाली समूदायका प्रतिनिधिहरु अस्पताल पुगेका छन् ।