लगानी गर्ने वातावरण बनाउन सरकारलाई काँग्रेस नेता देउवाको आग्रह
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जैविक वस्तुको माग अन्तर्राष्ट्रिय बजारमा बढेकाले यसको उत्पादन पनि बढाउन कृषकलाई सुझाव दिनुभएको छ । पाँचथरको फिदिममा आज बिहान मार्गदेवी जैविक कफी उद्योग प्रालिको उद्घाटन गर्दै उहाँले देशमा कफी, चिया, तरकारीलगायतका जैविक वस्तुको उत्पादन बढाउन कृषकलाई सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो – “देशमा अहिले पनि जैविक वस्तुमा कृषकले न्यूनतम मूल्य पनि पाउन सकिरहेका छैनन् । यसका लागि सरकार गम्भीर हुन आवश्यक छ ।” देशमा शान्ति र संविधान नआएसम्म लगानीकर्ताले जैविक वस्तु उत्पादनमा लगानी गर्ने वातावरण बन्न नसक्ने बताउँदै उहाँले लगानीको वातावरण तयार पार्न सरकारसँग आग्रह गर्नुभयो ।