ईस्लामी अतिवादीविरुद्ध इजिप्ट पनि होमिया, लिबियामा जिहादीमाथि आक्रमण, राष्ट्रसंघ र अमेरिकाबाट टाउको काट्ने घटनाको निन्दा


जिहादीहरूले २१ जना इजिप्टसेली क्रिस्चियनको टाउको काटी हत्या गरेको भिडियो सार्वजनिक गरेपछि काइरोले लिबियामा इस्लामिक स्टेट समूहको लक्ष्यमा हवाई आक्रमण गरेको छ । इजिप्टले यस विषयमा कडा हस्तक्षेप आवश्यक भएको उल्लेख गरेको छ भने फ्रान्सले सुरक्षा परिषद्लाई छिमेकी लिबियामा जिहादीविरुद्ध नयाँ पाइला लिन आग्रह गरेको छ । इजिप्ट सिनाइ प्रायःद्वीपमा आईएससँग पहिलेनै सङ्घर्ष गरिरहेको समयमा आक्रमणले यस युद्धमा नयाँ मोर्चा खोलेको छ । सेनाले सन् २०१३ को जुलाइमा इस्लामी राष्ट्रपति मोहमद मोर्सीलाई पदमुक्त गरेपछि आईएसका जिहादीले अनेकौँ सैनिक मारेको छ । भिन्नमत राख्नेमाथि घातक आक्रमण गर्ने व्यक्तिको रूपमा आलोचना भएका र मोर्सीलाई पदमुक्त गर्ने पूर्व सेना प्रमुख राष्ट्रपति अब्देल फताह अल–सिसीले इजिप्टलाई जिहादीविरुद्धको अन्तर्राष्ट्रिय प्रयासमा प्रमुख साझेदारको रूपमा प्रस्तुत गर्नुभएको छ । सोमबार बिहानै भएको हवाई आक्रमणमा आईएसको शिविर तथा तथा हतियार भण्डारमा प्रहार भएको सेनाले जानकारी दिएको छ । टाउको काटी हत्या गरिएको क्रूर भिडियोचित्र जिहादीले सार्वजनिक गरेपछि इजिप्ट क्रुद्ध भएको हो । प्रत्यक्षदर्शीले देर्नामा सेनाले कम्तीमा सातपटक हवाई आक्रमण गरेको जानकारी दिए । सेनाले आईएसका लागि अरेबिक भाषामा एक विज्ञप्ति प्रकाशन गरी लिबियाको दाएस शिविरमा भेला हुने, तालिम दिने तथा हतियार भण्डार गर्ने क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ । इजिप्टले आफ्नो पश्चिमी छिमेकमा इस्लामी लक्ष्यमा सैनिक कारबाही गरेको पहिलोपटक घोषणा गरेको हो । यसअघि उसले लडाकूलाई लक्ष्य बनाएको कुरालाई अस्वीकार गरेको थियो । अमेरिकी अधिकारीहरूले भने इजिप्टले पहिले संयुक्त अरब इमिरेट्सलाई लिबियाका लडाकूमाथि आक्रमण गर्न आफ्नो सैनिक केन्द्र प्रयोग गर्न दिएको बताएका छन् ।
हत्याको निन्दा
इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले लिबियामा कोप्टिक क्रिश्चियन समुदायका २१ इजिप्टेलीको हत्या गरेको घटनाको संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले निन्दा गरेका छन् । अमेरिका र राष्ट्रसङ्घले कडा शब्दमा निन्दा गरेका हुन् । यस्तो घृणित कार्यको राष्ट्रसङ्घ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको हो । लिबियामै गत हप्ता अपहरणमा परेका २१ जना ती क्रिश्चियन समुदायका व्यक्तिहरूलाई हत्या गरिएको भिडियो सार्वजनिक गरिएको थियो । इजिप्टको परम्परागत चर्चले सो हत्याको पुष्टि गरेको छ । आइएस लडाकू समूहले ती २१ जना इजिप्टेली नागरिकको टाउको काटेर हत्या गरेका छन् । संयुक्त राज्य अमेरिकाले क्रिश्चियन समुदायका २१ जना व्यक्तिको हत्या अत्यन्तै ठूलो घृणित कार्य हो भन्दै त्यसको कडा शब्दमा निन्दा गरेको छ । आइएसआइएलसँग आबद्ध आतङ्ककारीहरूले घृणित र कायरतापूर्वक हत्या गरेको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको ह्वाइट हाउसका प्रवक्ता जोस इर्नेस्टले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?