नेपाल–भारतसीमा सम्मेलनमा के के विषय उठ्दैछन् ?


Rss_Images_1424350768212_BM-Parsa-Bordar Summit-1नेपाल र भारतबीच शताब्दीऔँदेखिको ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ र सशक्त बनाउन सीमा सुरक्षा विवादको मैत्रीपूर्ण समाधान खोज्ने उद्देश्यले वीरगञ्जमा ‘नेपाल–भारत सीमा सम्मेलन–२०७१’ सुरु भएको छ ।  वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासद्वारा आयोजित उक्त दुई दिने सम्मेलन सिमानासम्बन्धी सुमधुर सम्बन्ध, सुरक्षा र जनमानसको आवागमन, खुल्ला सीमा व्यापार, पर्यटन र अवरोध तथा समाधान विषयमा केन्द्रित रहेको छ । सो अवसरमा भारतीय गृह मन्त्रालयका सचिव (सीमा व्यवस्थापन) स्नेहलता कुमारले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि भारत सदैव नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै शताब्दियौँदेखि दुई देशबीच साझा धार्मिक र सांस्कृतिक सम्पदामा आधारित मित्रता एवम् समझदारीको सम्बन्धलाई आगामी दिनमा अझ बढी सुदृढ र प्रगाढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारत नेपालमा सदैव दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धि चाहन्छ भन्दै नेपाल भारतबीचको बहुआयामिक सम्बन्धलाई एक्काइसौँ शताब्दीमा अझ बढी जनपक्षीय र सबल बनाउन भारतले सदैव सहयोगात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । सीमावर्ती क्षेत्रमा समय समयमा देखिएका केही समस्या र चुनौतीहरूको न्यूनीकरणका लागि त्यस क्षेत्रका नागरिक समाजका अगुवाहरूसँग छलफल र सहकार्य गर्नका लागि एउटा “बोर्डर सहयोग परिषद्” गठन गरेर कार्य गर्दा उपयुक्त हुने धारणाराख्दै उहाँले नेपाल भारत सीमाक्षेत्रमा देखिएका कतिपय विषयवस्तु भारतका विभिन्न राज्यहरूसँग जोडिएकाले त्यसको सहज र तत्काल समाधानका लागि भारतीय विदेश मन्त्रालयअन्तर्गत विभिन्न राज्यहरू सम्मिलित एउटा छुट्टै संयन्त्र निर्माण गरिएकाले यसबाट नेपालले सक्दो फाइदा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी, भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र भारतीय भन्सार पटनाका कमिशनर किसोरी लालले नेपाल भारत बीचको खुल्ला सिमानालाई दुवै देशको विकास र समृद्धिका लागि प्रयोग गर्नुपर्दछ भन्दै दुबै देशका नागरिकको स्वतन्त्रता, समानता, सामाजिक न्याय, दिगो र स्थायी शान्ति तथा समृद्धिको चाहनालाई एक अर्काले सम्मान गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?