सुशील कोइराला नेतृत्वको सरकारको एक वर्ष पूरा, कामको फेहरिस्त सार्वजनिक, वेवसाईट अपडेट गरेको पनि उपलब्धी
सुशील कोइराला नेतृत्वको सरकारको विकल्प स्वयं काँग्रेसी नेताहरुले नै खोजिरहेको बेलामा सरकारले एक वर्षका उपलब्धीहरुको जानकारी गराएको छ । सरकारले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित वर्तमान संयुक्त सरकारको एक वर्षका प्रमुख काम र उपलब्धि सार्वजनिक गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने अन्तिम तयारी भएको बताएको छ । तर, विपक्षी दलहरु आन्दोलनको बाटोमा गएका छन् र आरोप सत्तारुढ दलहरुलाई लगाएका छन् । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सिंहदरबारस्थित राष्ट्रिय विकास परिषद्को हलमा एक कार्यक्रममा एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै संविधान निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । साथै उहाँले संविधान निर्माणको वातावरण तयार गर्न सरकारबाट भएका प्रयत्न, संविधानसभा, व्यवस्थापिका–संसद्मा सरकारका प्रतिबद्धता, शान्ति सुरक्षा र मानवअधिकार,आर्थिक तथा पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विकासका लागि भएका प्रयास, कृषिको व्यावसायिकीकरण, सिँचाइ, भूमिसुधार तथा सुकुम्बासी समस्या समाधानका निम्ति भएका प्रयास, विपद् व्यवस्थापन, संस्कृति तथा पर्यटन प्रवद्र्धनलगायत एकसय ४८ बुँदे मुख्य काम र उपलब्धि सार्वजनिक गर्नुभयो । सरकारको नीति तथा कार्यक्रमले नेपालको अन्तरिम संविधान तथा विस्तृत शान्ति सम्झौताका व्यवस्थाको क्रमशः कार्यान्वयन गर्ने क्रममा विगत आठवर्षदेखि रोकिएको सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिन वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेला मिलाप आयोग गठन भई काम सुरु भएको तथा सहिद एवम् वेपत्ता परिवार एवम् द्वन्द्वपीडितलाई थप राहत एवम् क्षतिपूर्ति दिनेगरी कार्यक्रम सञ्चालन भएको मन्त्री रिजालले बताउनुभयो । सरकारको सबैभन्दा महत्वपूर्ण उपलब्धीकै रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनलाई राखिएको छ । यस्तै बिमस्टेकमा सहभागिता, अमेरिका भ्रमण, सार्क सम्मेलनको आयोजना लगायतलाई पनि सरकारले उपलब्धी भनेको छ ।सरकारले सार्वजनिक गरेको विवरणमा सरकारी वेवसाईटहरु समयमै अपेडेट हुने गरेको भनेर पनि उपलब्धीको रुपमा व्याख्या गरिएको छ । पूर्ण विवरणको लागि यहाँ जानुहोस् ।
Progress-and-achievements-of-one-years-of-Government-led-by-Rt.-Honble-PM-Sushil-Koirala