अमेरिकाले अफगानिस्तानमा खटिएका सैनिक फिर्ताको विषयमा पुनर्विचार गर्ने


Carter listens to remarks by Ghani during a joint news conference at the Presidential Palace in Kabul, Afghanistanअफगानिस्तानको अघोषित भ्रमण पुग्नु भएका नवनियुक्त अमेरिकी प्रतिरक्षा मन्त्री आस्टन कार्टरले अफगानिस्तानबाट अमेरिकी सैनिक फर्काउने योजनाको समय तालिका पुनः विचार गरिने बताउनु भएको छ । राष्ट्रपति भवन अर्गमा अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीसँग कार्टरले गर्र्नु भएको वार्ता पछि प्रकाशित संयुक्त प्रेसविज्ञप्तिमा उक्त कुरा उल्लेख भएको छ । अफगान राष्ट्रपति घानीको आगामी महिना हुनगइरहेको वासिङ्गटन भ्रमणका बखत राष्ट्रपति ओबामासँग अमेरिकी सैनिक फर्काउने समय तालिकाका सम्बन्धमा विस्तृत पुनः विचार हुने र यसै छलफलले समय तालिकाको टुङ्गो लगाउने समेत गत मङ्गलबार मात्र नियुक्त हुनु भएका अमेरिकी पेन्टागन प्रमुख कार्टरले बताउनुभयो । गत वर्षको अन्त्यदेखि अमेरिकी तथा नेटो सैनिकले युद्धमा प्रत्यक्ष भाग नलिए पछि अफगानिस्तानमा रहेका १२,००० बहुर्राष्ट्रिय सेनामध्ये अमेरिकी सेनाको सङ्ख्या १०,८०० जति छ । यी सैनिकहरुले अफगान राष्ट्रिय सेनालाई तालिम दिने, युद्धकला सिकाउने जस्ता कार्य गर्दै आइरहेका छन् । अफगानिस्तानमा हाल बाँकिरहेका सैनिकहरुमध्ये सन् २०१५ को अन्त्यसम्म करिब पाँच हजार अमेरिकी सैनिकलाई फर्काइने र बाँकी रहेका अरु सबै अमेरिकी सैनिकलाई पनि आफ्नु राष्ट्रपतिकालको अन्त्यसम्ममा फर्काइने अमेरिकी राष्ट्रपति बाराक ओबामाको योजना रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?