काँग्रेस बैठकमा वार्ताका लागि अनन्तकाल पर्खन नहुनेमा जोड
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले सहमतिमा संविधान निर्माणका लागि विपक्षी मोर्चासँगको पहल गरिएको वार्ताका लागि अनन्तकालसम्म पर्खिन नहुनेमा जोड दिएका छन् । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सहमतिका नाममा संविधानसभाको महत्वपूर्ण समय खेर फाल्न नहुनेमा जोड दिँदै एकीकृत नेकपा ९माओवादी० नेतृत्वको विपक्षी मोर्चा वार्तामा नआए संविधान निर्माणको प्रक्रिया अघि बढाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । सदस्यहरुले नेतृत्वलाई वार्ता एवम् संवादलाई प्राथमिकता दिई सो समयको अधिकतम् सदुपयोग गर्नुपर्नेमा जोड दिँदै विपक्षी मोर्चाले वार्ता र संवादलाई प्राथमिकता नदिए संविधान निर्माण प्रक्रियालाई पनि अघि बढाउनुपर्नेमा जोड दिएको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी गराउनुभयो । बैठकमा पार्टीका भातृ संस्थाहरु नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घको महाधिवेशन गर्न मिति तय गर्न तथा पार्टीको अनुशासन समितिको निर्णयउपर परेका उजुरीमाथि छलफल भएको पार्टी प्रवक्ता बडूले बताउनुभयो । यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीको १३ औँ केन्द्रीय महाधिवेशन २०७२ साल भदौ २४ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थिायो । महाधिवेशनका लागि पार्टीले आगामी साउन १४ गते नगर वडा, गाउँ र नगर अधिवेशन गर्ने, साउन २२ गते क्षेत्रीय अधिवेशन गर्ने र साउन २६ गते जिल्ला अधिवेशन गर्ने तय गरेको थिायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान निर्माण र दलहरुबीच सहमतिका लागि भएका प्रयासका बारेमा छलफल भएको जानकारी दिँदै प्रवक्ता बडूले दुई÷तीन दिनभित्र विपक्षी मोर्चासँग निर्णायक वार्ता हुने सङ्केत देखिएको बताउनुभयो । साथै विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद छानबिनका लागि नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव रहनुभएको समिति गठन गरी २०७२ साल वैशाख मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएका सम्पूर्ण विवाद टुङ्ग्याउने जिम्मेवारी दिइएको थियो ।