रथीमा बढुवा भए राजेन्द्र क्षेत्री, अम्बर गुरुंगको सबै उपचार खर्च सरकारले व्यहोर्ने
सरकारले नेपाली सेनाको रथी पदमा उपरथी राजेन्द्र क्षेत्रीलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले उहाँलाई सो पदमा बढुवा गरी पदस्थापनासमेत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । सेनाको प्राविधिक उपरथीमा योगेन्द्रबहादुर खाँणलाई पदोन्नति गरी विकास निर्माण तथा स्थपति महानिर्देशनालयमा पदस्थापना तथा सहायक रथीमा कमालसिंह प्रधानलाई बढुवा गर्ने निर्णय गरिएको छ । बैठकले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति तथा राष्ट्रियगानका सङ्गीकार अम्बर गुरुङको शीघ्र स्वास्थ्यलाभको लागि कामनासमेत गरेको छ । सरकारले उहाँको उपचारमा लागेको खर्चसमेत व्यहोर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा रामशरण महतको अध्यक्षतामा पूर्व गभर्नर हिमालय शम्शेर जबरा र अर्थशास्त्री डा पार्थिवेश्वर तिमिल्सिना रहनुभएको तीन सदस्य समिति गठन गरेका छ । बैठकले नेपाल कानुन सुधार आयोगको सदस्यमा अधिवक्ता दुर्गाबहादुर अर्याल, बलबहादुुर राई र विजय अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा सुरेन्द्र पौडेल, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक केन्द्रको महाप्रबन्धकमा अन्जना ताम्राकारलाई नियुक्त गरेको छ । खुला विश्वविद्यालय पूर्वाधार समितिको कार्यकारी निर्देशकमा सरकारले राजेश अग्रवाललाई नियुक्त गरेको छ । पिछडिएको समुदाय विकास समितिको उपाध्यक्षमा रामचन्द्रप्रसाद कोइरी र सदस्यमा निजामुद्दिन अन्सारीलाई नियुक्त हुनुभएको छ । राष्ट्रिय दलित आयोगको सदस्यहरूको समेत सरकारले ै नियुक्त गरेको छ । सरकारले उच्चस्तरीय प्रशासन सुधार सुझाव कार्यान्वयन अनुगमन समितिको अध्यक्षमा काशीराज दाहाललाई नियुक्त गरेको छ ।