संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ९० जनाको अपहरणको विरोध, मुक्त गर्न माग
उत्तरी सिरियाबाट आइएस लडाकू समूहले कम्तिमा ९० जना क्रिश्चियन धार्मिक सम्प्रदायका व्यक्तिलाई अपहरण गरेको घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले बुधबार कडा शब्दमा निन्दा गरेको छ । सो परिषद्ले अपहरणमा परेका ती व्यक्तिलाई बिनासर्त तुरुन्तै मुक्त गर्न आइएसलगायत अन्य आतङ्ककारी समूहसँग मागसमेत गरेको छ । आइएस लडाकू समूहले गत सोमबार उत्तरी सिरियाको ताल सामिरम र ताल हुर्मोज सहरबाट ती व्यक्तिलाई अपहरण गरेका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स स्रोतले जानकारी दिएको थियो । आइएस लडाकू समूहले सिरियामा बारम्बार आक्रमण गर्दै आएका छन् । हालै आएर यो समूहले लिबियामा आक्रमण सुरु गरेका छन् । केही दिनअघिमात्र आइएस समूहले २० इजिप्टेली क्रिश्चियनको हत्या गरेका थिए ।