बरु मर्न तयार छु तर झुक्न तयार छैन : प्रचण्ड, तीस दलीय मोर्चाको खुल्लामञ्चमा प्रदर्शन र सभा
एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले सहमतिमा संविधान बनाउने पक्षमा रहेको पुनः स्पष्ट गर्दै बहुमतीय प्रक्रिया तत्काल खारेज गरेर राजनीतिक सहमति तथा संवाद सहमतिबाटै निष्कर्षमा पुग्नुपर्ने जनाएको छ । उक्त मोर्चाको आयोजनामा खुलामञ्चमा भएको विशाल जनसभालाई सम्बोधन गर्दै मोर्चाका संयोजक एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हजारौँ सहिदको बलिदानबाट प्राप्त जनआन्दोलनका उपलब्धि, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, बाह्रबुँदे समझदारी, मधेस आन्दोलनलगायत आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन गर्दै संविधान निर्माणमा आफूहरु इमान्दारीपूर्वक लागेको बताउनुभयो । करिब आधा घण्टा बोल्नुभएका प्रचण्डले विगतमा भएका सम्झौतालाई बिर्सन खोजेकोले अहिलेको तनाव निम्तिएको बताउनुभयो । यदि परास्त गरेर अघि बढ्न खोजेको हो भने बरु आपूm मर्न तयार हुने तर झुक्न तयार नहुने प्रचण्डको भनाई छ । उहाँले भन्नुभयो, काँग्रेस र एमालेको नेतृत्वमा विगतको सहमति र सम्झौताको विरोधी शक्ति हावी भएका छन् । यस्तै जनजीविकाको सवालमा अहिलेको सरकार असफल भएको भन्दै आफ्नै मन्त्रीहरुलाई समेत भ्रष्टाचार भएको छ भन्ने थाहा पाउँदा पाउँदै कारवाही गर्न नसक्ने प्रधानमन्त्रीले हैसियत देखाइसकेको टिप्पणी थियो । विगतका सन्धि, सम्झौता, सहमति तोडेर एकता र मेलमिलाप हुन नसक्ने भन्दै जनताका भावनाअनुरुप पहाडी, मधेसी, आदिवासी, जनजाति, मुस्लिम, उत्पीडितका पक्षमा संविधान बनाउनुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै अन्य दलका शीर्ष नेताहरुले पनि वार्ताको विकल्प नभएपनि यसका लागि अनन्तकालसम्म कुर्न नसकिने बताएका थिए । अबको आन्दोलन जिल्ला केन्द्रित हुने र विद्रोहात्मक रहने पनि उनीहरुले स्पष्ट पारेका छन् ।
एनेकपा—माओवादीसहितको तीस दलीय मोर्चाले आज राजधानीमा आयोजना गरेको बृहत् आमसभा अपराह्न २ः२० मा औपचारिकरुपमा सुरु भएर ५ः४५ मा समाप्त भएको थियो । नेपालको राष्ट्रिय गानबाट औपचारिक प्रारम्भ गरिएको बृहत् आमसभामा तीस दलीय मोर्चाका विभिन्न झाँकीहरु प्रस्तुत थिए । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष तथा बृहत् आमसभाकासमेत अध्यक्ष रहनुभएका पुष्पकमल दाहाल (प्रचण्ड) लाई बृहत् आमसभातर्फ लैजान पार्टीका कार्यकर्ता तथा सुरक्षा निकायले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो । राजधानीको खुलामञ्चमा सुरुभएको आमसभामा अधिकांश सहभागी ग्रामीण अनुहारका देखिन्थे । टुँडिखेल मैदान भने हिलाम्य थियो । तीस दलीय मोर्चाका कार्यकर्ता हिलाम्य टुँडिखेलमा आफ्ना नेताले के भन्छन् भन्ने सुन्न लालायित देखिन्थे । तीस दलीय मोर्चाका स्वयमसेवकहरु कार्यक्रमलाई मर्यादित र सभ्य बनाउन दिलोज्यानपूर्वक सहयोग गरिरहेका थिए । आदिवासी जनजातिका अगुवा पासाङ शेर्पाले उद्घोषणका प्रारम्भमा नै फोटो पत्रकारलाई मञ्च अगाडिबाटै तस्बिर खिच्न र मोर्चाका कार्यकर्तालाई आ–आफ्नो पार्टीको झन्डा फहराइदिन आग्रह गरेका थिए । मैदानको अग्रभागमा पत्रकार र पत्रकारका पछाडि तीस दलका कार्यकर्ता, त्यसपछि हजारांँैको सङ्ख्यामा जनसमूह टुँडिखेलमा उपस्थित थिए । टुँडिखेल हिलाम्य भएकाले सर्वसाधारण बागबजार अगाडि रहेको आकासे पुल, रत्नपार्क र नजिकै रहेको बसपार्कसम्म छरिएर रहेका थिए । आयोजित कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न पहिचान झल्कने झाँकी तथा विभिन्न बोलमा नृत्यहरु प्रदर्शनसमेत गरिएको थियो । दलका अग्रज नेताहरुका अगाडि लाखे, छ्याटु, होली, सोरङ्गे, साकेलालगायतका नृत्य तथा झाँकीहरुको प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । लाखे(नेवारी), छ्याटु,(गुरुङ), होली (मधेसी), सोरङ्गे (मगर) र साकेला (किराँत) जातिका विभिन्न कार्यक्रममा देखाइने नृत्यहरु हुन् । ‘यथास्थिति र प्रतिगमनकाविरुद्ध सङ्घर्ष गरौँ, उत्पिडित र राष्ट्रियताहरुको पहिचान र अधिकारसहितको सङघीय गणतन्त्रात्मक संविधान निर्माण गरौँ’ भन्ने नाराका साथ आजको बृहत् आमसभामा अधिकांश वक्ताहरुले सहमतिमा संविधान जारी गर्नुपर्ने बताएका थिए । नेपालमा १२५ जातजाति र १२३ भाषा बोल्ने नेपालीहरु र राष्ट्रिय जनगणना २०६८ अनुसार ४ प्रतिशत अर्थात् ६० लाख दलितमात्रको बसोबास छ । टुँडिखेल मैदानमा योङ कम्युनिस्ट लिग (वाइसिएल) लेखिएका राता टोपी र लाठी बोकेका युवा दस्ताको उपस्थिति थियो । सहमतिमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले सो बृहत् आमसभा सुरु गरिएको हो । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेतृत्व गर्नुभएको जुलुस र सुरक्षाकर्मीबीच नयाँ बानेश्वरमा भएको झडपमा परी घाइते भएका पाँच कार्यकर्ता मञ्चमा प्रवेश गरी पत्रकारलाई फोटो खिचाउन लागि परेका थिए । सभास्थलमा एमाओवादीका नेता गिरिराजमणि पोखरेलले लेख्नुभएको ‘पहिचानमा आधारित सङ्घीयता किन’ नामक पुस्तक एमाओवादीका अध्यक्ष प्रचण्डले विमोचन गर्नुभएको थियो ।
के भने अन्य नेताले ?
एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले सहमतीय प्रक्रियाबाट अगाडि बढ्ने प्रतिबद्धता जनाए आफूहरु वार्तामा बस्न तयार रहेको जानकारी दिँदै समयछँदै सहमतिमा आउन सत्तारुढ दललाई आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो– “मुलुकमा १२३ जाति छन् यिनीहरुले जातीय राज्य गराउन खोजे भन्ने आरोप हामीलाई लगाउँछन्, तर हामीले पहिचानसहितको नौ वा दश प्रदेश मात्र मागेका छौँ, जातीय राज्य मागेका छैनौँ ।”
कार्यक्रममा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सत्तारुढ दललाई बहुमतको अहङ्कार बढेको आरोप लगाउँदै अहङ्कारको पट्टि उघार्न सुझाव दिनुभयो । उहाँले सभा स्थगित गर्न सत्तारुढ दलले आफूलाई आग्रह गरेको जानकारी दिँदै सहमतिमा जान खोजेको भए तत्काल वार्ता प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभयो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको सङ्घीयता स्वीकार गर्ने भएमात्रै वार्ताको औचित्य हुने जिकिर गर्दै अन्यथा वार्ताको कुनै तुक नभएको टिप्पणी गर्नुभयो । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले सत्तारुढ दल उल्टो दिशामा हिँडेकाले समस्या बढिरहेको बताउनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आजको सभा भण्डाफोर सभा रहेको बताउँदै विगतका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले काँग्रेस र एमालेले बनाएको २०४७ सालको संविधान असफल भएकाले यस पटक माओवादी र मधेसवादीलाई संविधान बनाउने अवसर दिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारी, सङ्घीय लोकतान्त्रिक थरुहट मञ्चका अध्यक्ष रुक्मिणी चौधरीलगायतले आदिवासी, जनजाति मधेसीको अधिकार सुनिश्चित नभएसम्म आफूहरुको आन्दोलन जारीरहने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक पहिचान झल्कने झाँकी, गीत सङ्गीत पनि प्रस्तुत गरिएको थियो ।