एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत २४ देखि काठमाडौँमा


cricketसिनियरतर्फको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २४ फागुनदेखि चैत ९ गतेसम्म सञ्चालन हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र पुल्चोकको इन्जिनियरिङ कलेजको मैदानमा हुने प्रतियोगितामा क्षेत्रीय नौ र विभागीय दुई गरी ११ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जानकारी दिएको छ । क्षेत्र नं १ विराटनगर, क्षेत्र नं २ वीरगन्ज, क्षेत्र नं ३ काठमाडौँ, क्षेत्र नं ४ भैरहवा, क्षेत्र नं ५ नेपालगन्ज, क्षेत्र नं ६ वैतडी, क्षेत्र नं ७ जनकपुर, क्षेत्र नं ८ पोखरा र क्षेत्र नं ९ धनगढी छन् । त्यस्तै, विभागीय टोलीमा त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लब समावेश छन् । प्रतिस्पर्धी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा जम्मा २८ खेल हुनेछन् । प्रायोजक नभएकाले क्यान आफैँले प्रतियोगिताका लागि पुरस्कार राखेको क्यानका कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यले बताउनुभयो । प्रतियोगिताको कुल बजेट रु ३३ लाख भएकोमा विजेतालाई रु दुई लाख, उपविजेतालाई रु एक लाख २५ हजार पुरस्कार दिइने छ । साथै सर्वोकृष्ट खेलाडीलाई रु ३० हजार, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई रु २०–२० हजार र उत्कृष्ट युवा खेलाडीलाई रु १० हजार प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान ‘अफ द म्याच’लाई डोर्मियर सपिङ एन्ड सुटिङ सेन्टरका तर्फबाट गिफ्ट ह्याम्पर, ट्रफी तथा रु तीन हजार प्रदान गरिने छ । राष्ट्रिय प्रतियोगिता समाप्तिपछि त्यहाँ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र यू १९ समेत गरेर चार टोली बनाइनेछ र ती टोलीबीच एकअर्कामा छ खेल खेलाइनेछ । त्यहाँको प्रदर्शनलाई आधार बनाएर यही वर्षदेखि स्कटल्यान्डबाट सुरु हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीका खेलाडीको अन्तिम छनोट गरिने क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?