श्रीलंकाको भ्रमणमा भारतीय प्रधानमन्त्री, तमिलहरुलाई अधिक स्वायत्तताको निम्ति आग्रह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार जाफ्ना आइपुग्नुभयो । श्रीलङ्कामा यद्धग्रस्त उत्तरी तलिम मुख्यस्थलमा भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमणको रूपमा उहाँ यहाँ आइपुग्नुभएको हो र यसअघि उहाँले यस मुलुकको सबैभन्दा ठूलो अल्पसङ्ख्यक समुदायका लागि अधिक स्वायत्तपनाका लागि आग्रह गर्नुभएको थियो । जाफ्ना प्रायःद्वीप श्रीलङ्काको सुदूर उत्तरी भागमा अवस्थित छ र यो यस मुलुकको ३७ वर्षे गृहयुद्धमा नराम्रोसँग प्रभावित भएको थियो । यस युद्धमा कम्तीमा एक लाख व्यक्तिको मृत्यु भएको र मर्नेमा प्रायः तमिल परेको बताइएको छ । यो क्षेत्र निकै समय सैनिक नियन्त्रणमा रहेको थियो । प्रधानमन्त्री मोदी यस क्षेत्रमा भारतीय लागतमा स्थापना हुने सांस्कृतिक केन्द्र निर्माणको आरम्भका लागि यहाँ आइपुग्नु भएको हो । यसै गरी दशकौँसम्मको युद्धमा आफ्नो घर गुमाएका परिवारलाई ५० हजार घर औपचारिक रूपमा हस्तान्तरण गर्न पनि उहाँ यहाँ आइपुग्नुभएको हो । श्रीलङ्काका तलिम जनता भारतको दक्षिणी राज्य तमिल नाडुको सांस्कृतिक तथा धार्मिक परम्परासँग नजिकको सम्बन्ध राख्छन् । भारतीय प्रधानमन्त्री मोदीको यस क्षेत्रको भ्रमणले यस क्षेत्रको ठूलो शक्तिको यी तमिल जनताप्र्रति दिएको समर्थन प्रदर्शन गर्छ । एक दिन अगाडि उहाँले श्रीलङ्काली नयाँ राष्ट्रपति मैत्रिपाला सिरिसेनासँग भेटवार्ता गर्नुभएको थियो । उहाँले श्रीलङ्का सरकालाई तमिलाई अधिक स्वायत्तपना प्रदान गर्ने सन् १९८७ को संवैधानिक प्रावधान पूर्णरूपमा पालना गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री मोदीले श्रीलङ्का दशकौँसम्म दुःखद हिंसा तथा द्वन्द्वमा गुज्रिएको बताउनुभयो । उहाँले श्रीलङ्काली जनताले आतङ्वादलाई सफलतापूर्वक पराजित गरेको तथा र द्वन्द्व अन्त्य गरेको बताउनुभयो । उहाँले हाल श्रीलङ्कालाई समाजका सबै पक्षको मुटु जित्न तथा घाउमा मलहम लगाउने अवसर प्राप्त भएको बताउनुभयो । भारतीय प्रधानमन्त्री मोदीलाई जाफ्नामा यस क्षेत्रका उच्च तमिल राजनीतिज्ञ सी.भी. विगनेस्वरनले स्वागत गर्नुभयो । उहाँले प्रधानमन्त्री मोदीलाई श्रीलङ्काको तमिल जनताका लागि राजनीतिक व्यवस्था सुनिश्चित गरिदिन आग्रह गर्नुभयो । प्रधानमन्त्री मोदीले संसदमा सिंहाली बहुसङ्ख्यक बसोबास गर्ने मुलुकमा भारतीय शैलीको सहकारी गणतन्त्र उपयोगी हुनसक्ने बताउनुभयो । नेता विगनेस्वरनले आफूहरुले न्याय, निष्पक्ष व्यवहार तथा आत्मसम्मान खोजेको बताउनुभयो । युद्ध अन्त्य भएको पाँच वर्षपछि सन् २०१३ को सेप्टेम्बरमा यहाँ एक तमिल परिषद् निर्वाचित भएको हो । यसो भए पनि यसलाई संसदीय अधिकार भने दिइएको छैन । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले कोलम्बोमा राष्ट्रमण्डलीय शिखर बैठकको समयमा यस क्षेत्रको भ्रमण गर्नुभएको थियो भने भारतीय प्रधानमन्त्री मोदी यस क्षेत्रको भ्रमण गर्ने दोस्रो विदेशी नेता हुनुहुन्छ । यसअघि शनिबार उहाँले युद्धप्रभावित अर्को स्थान श्रीलङ्काको मध्य भागमा एक बौद्ध मन्दिरमा रेल सेवा आरम्भ गर्नुभयो । भारतीय ऋणले जाफनामा रेल सेवा पुनः आरम्भ गर्न सहयोग गरेको छ र प्रधानमन्त्री मोदीले श्रीलङ्काको जीर्ण रेलसञ्जाललाई पुनस्र्थापना गर्न ३१ करोड ८० लाख अमेरिकी डलर उपलब्ध गराउने बचन दिनुभएको छ । भारतले श्रीलङ्काको अल्पसङ्ख्यक समुहको आर्थिक स्वायत्तपनाका लागि लामो समयदेखि सहयोग गरिरहेको छ । जाफ्नाका सांसद सुरेश प्रेमचन्द्रनले मोदीको बचन सामो समयका लागि सबैभन्दा बलियो रहेको बताउनुभयो । श्रीलङ्काली राष्ट्रपति सिरिसेना जातीय मेलमिलाप तथा तथा पूर्व नेता महिन्दा राजापक्षेको शासनकालमा सुरक्षा सेनाले गरेको युद्ध अपराधप्रति उत्तरदायित्वको बचनसँगै जनवरी महिनामा भएको निर्वाचनमा शासनमा आउनुभएको हो । अन्तर्राष्ट्रिय समुदायले जाफ्नामा सैनिक सङ्ख्या कटौती गर्न आग्रह गरे पनि लाखौँ सैनिक जाफ्नामा रहेका छन् । जाफ्ना नगरको केही भागमा पुननिर्माण आरम्भ भए पनि धेरै भागमा अझै पनि दशकौँसम्मको व्यापक बम आक्रमणको भग्नावशेष देख्न सकिन्छ ।