लन्डनमा चर्चिलसँगै गान्धीको मूर्ति अनावरण


Britain India Gandi Statueभारतीय स्वतन्त्रताका नेता महात्मा गान्धीको मूर्ति शनिबार बेलायती व्यवस्थापनको मुटुमै अनावरण भएको छ । बेलायती सम्राज्यको शासनविरुद्ध अभियान सञ्चालन गरेको भनी कुनै समयमा बेलायती व्यवस्थापनले गान्धीलाई घृणा गर्नेगथ्र्यो । गान्धीको मूर्ति बिग बेन तथा हाउस अफ कमन्सको अगाडि पालिर्यामेन्ट क्वायरमा दोस्रो युद्धकालिन बेलायती नेता विन्स्टन चर्चिलको मूर्तिसँगै स्थापना गरिएको छ । चर्चिलले गान्धीलाई अर्धनग्न फकिर भन्ने गर्नुहुन्थ्यो । भारतीय अर्थमन्त्री अरुण जेटलीले एक समारोहमा काँस्यको मूर्ति अनावरण गर्नुभयो भने उक्त समारोहमा बेलायती प्रधानमन्त्री डेविड क्यामरुन, बलिउडका सिनेकर्मी अमिताभ बच्चन तथा गान्धीका नाती श्री गोपालकृष्ण गान्धी सहभागी हुनुहुन्थ्यो । बच्चनले गान्धीका सिद्धान्तमा भाषण दिनुभएको थियो । उक्त समारोहमा सयौँ सहभागी भएका थिए भने कार्यक्रममा भारतीय शास्त्रीय सङ्गीत बजाइएको थियो । चोकको वरपर भारतीय झण्डा फहराइएको थियो । यो समारोह आयोजना भए पनि ऐतिहासिक रूपमा गान्धीलाई वेस्टमिन्स्टरका धेरैले मन पराएका थिएनन् । उहाँ बेलायतबाट भारतको स्वतन्त्रताका लागि अहिंसात्मक आन्दोलनका नेता हुनुहुन्थ्यो र बेलायतले सन् १९४७ मा भारतलाई स्वतन्त्रता दिएको थियो । उक्त अवसरमा बेलायती प्रधानमन्त्री क्यामरुनले गान्धी विश्व राजनीतिक इतिहासमा अग्ला व्यक्तिमध्ये एक रहनुभएको बताउनुभयो । उहाँले यस मूर्तिले उहाँलाई बेलायतमा एक शाश्वत घर प्राप्त भएको बताउनुभयो । सन् २०१३ मा क्यामरुन सन् १९१९ मा बेलायती नियन्त्रणमा रहेको सेनाले सयौँ निहत्था प्रदर्शनकारीमाथि गोली प्रहार गरी आमहत्या गरेको अमृतसरमा पुग्ने प्रथम बेलायती प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले उक्त हत्या लज्जाजनक भएको बताउनुभयो । उहाँले भारत तथा बेलायतबीच आर्थिक सम्बन्ध पनि विस्तार गर्नुभएको थियो । बेलायतमा भारतीय मूलका १५ लाख नागरिक बसोबास गर्छन् । प्रधानमन्त्री क्यामरुन सन् २०१० मा शासनमा पुग्दा उहाँले भारतसँग व्यापार दोब्बर बनाउन चाहेको बताउनुभएको थियो । भारतीय अर्थमन्त्री जेट्लीले दुई मुलुकबीचको सम्बन्ध समान साझेदारीमा आधारित भएको बताउनुभयो । उहाँले यस अवसरले विश्वको सबैभन्दा पुरानो र ठूलो प्रजातन्त्रबीच सम्बन्ध स्पष्ट पार्ने बताउनुभयो । गान्धीको नौ फिट अग्लो मूर्ति सम्मानित मूर्तिकार फिलिप ज्याकसनले तयार गर्नुभएको हो । यो मूति सन् १९३१ मा गान्धीले लन्डन भ्रमण गर्दा खिचिएको तस्वीरको आधारमा तयार गरिएको हो । यस घटनाले गान्धी दक्षिण अफ्रिकाबाट भारत फर्केको १०० वर्ष पुगेको देखाउँछ । दक्षिण अफ्रिकामा जनताको अधिकारका लागि उहाँलाई पटकपटक कारागारमा राखिएको थियो र उहाँले त्यहाँनै नागरिक अवज्ञाको अभियान आरम्भ गर्नुभएको थियो । गान्धीको मूर्ति रङ्गभेदविरोधी नेता नेल्सन मन्डेला तथा अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनको बिचमा रहेको छ । उहाँले सन् १८६३ मा दासमुक्तिको आदेश जारी गर्नुभएको थियो । गान्धी मूर्ति स्मारक कोषले छ महिनामा यस परियोजनाका लागि १० लाख पाउन्ड जम्मा गरेको थियो भने त्यसका लागि भारतीय अर्बपति स्टिल व्यापारी लक्ष्मी मित्तलले एक लाख पाउन्ड उपलब्ध गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?