बलात्कार एउटा महारोग, नेपाली समाजबाट यसलाई कसरी निर्मूल पार्नेहोला ?
अन्जली रम्तेल
बाराकी पूजा साहको बलात्कारपछि उपचारका क्रममा निधन भएको घटना सेलाउन नपाउँदै नाबालिकामाथि हुने बलात्कारका घटना एकपछि अर्को गर्दै बाहिर आउन थालेका छन् । ललितपुरमा नातामा मामा पर्नेले सात वर्षकी एक बालिकालाई बलात्कार गरे । त्यो कुरा सार्वजनिक भएपछि उनले आफूलाई लगाइएको अभियोग स्वीकारमात्र गरेनन्, ती बालिकाभन्दा अगाडि उनकै दिदीलाई समेत बलात्कार गरेको बताए । पछिल्लो समय महिला र खासगरी बालिकामाथि बलात्कारका घटना सार्वजनिक हुनु र यसले सञ्चारमाध्यममा पर्याप्त स्थान पाउनुले मुलुकमा अहिले उनीहरूमाथि बलात्कारका शृङ्खला बढ्दै गइरहेको स्पष्ट छ । अधिवक्ता कल्पना शर्माले पूजाकै घटनालाई लिएर विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहँदा एक १० वर्षमुनिकी बालिकाले आफूलाई पनि शिक्षकले त्यस्तै गरेको बताएको सुनाइन् । सो कुरा बालिकाबाट आएपछि अधिवक्ता शर्माले उक्त घटनालाई प्रहरी प्रशासनसम्म पु¥याइन् । दशैँअघिदेखि ती शिक्षकले बालिकालाई बलात्कार गर्न थालेको भए पनि यो घटना करिब एक साताअघिमात्र सार्वजनिक भयो । आरोपी प्रहरी हिरासतमा भए पनि आरोपीका दाइले भने प्रहरीसँग बार्गेनिङ नमिलेर हो मिलेपछि केही दिनमा बाहिर निस्कन्छ भनेर भन्दै हिँड्ने गरेको अधिवक्ता शर्माले बताइन् । यसै साता प्रवेशिका परीक्षा दिने तयारीमा रहेकी कञ्चनपुरमा एक किशोरी सामूहिक बलात्कारमा परिन् । रातको समयमा बलात्कार भएकाले पीडितले पीडकलाई नचिनेको भन्दै केही संदिग्ध व्यक्तिलाई पक्राउ परे पनि पछि एकजनाबाहेक अरूलाई छाडियो । विद्यमान कानुनअनुसार १० वर्षमुनिका बालिकालाई बलात्कार गरेमा १० देखि १५ वर्षको कैद हुने व्यवस्था छ । यदि सो कैद भुक्तानी गरी पीडक आएको अवस्थामा बालिका मात्र १७ वर्षको हुने भएकाले त्यही पीडकलाई आफ्नै आँखा अगाडि देखिरहँदा उनको मानसिक अवस्था कस्तो होला? अधिवक्ता अनिता महर्जनको प्रश्न छ । दाङमा केही समयअघि मात्र २० वर्षीया उषा केसी र १९ वर्षकी अनिता भण्डारीको मृत अवस्थामा फेला परे । १९ दिनअघि हराएका उनीहरूको शव क्षतविक्षत अवस्थामा भेटिए पनि प्रहरीले विष खाएको भनी घटनालाई सामसुम पारेका छन् । मृतक केसीका बुबा अञ्चल केसीले माघ ५ गतेदेखि हराएका छोरीहरूको शव २३ गते भेटियो । छोरीको शवको दाहिने हातको तीन वटा औँला छैन र खुट्टामा समेत किला ठोकिएको थियो भने शरीरमा तेजाब खन्याइएको अवस्थामा थियो । उनले भने, “मैले न्याय पाउन सकिन, अनिताले आफ्नो कापीमा म मरेमा विपिन सर र जगदीश सरलाई पक्रनु भनी लेखिएको लिखतसमेत भेटायौँ, तर प्रहरीले ती प्रमाणलाई वास्ता गरेन । अहिले पनि आरोपी खुलेआम हिँडिरहेका छन् । मैले किटानी जाहेरी दिँदा आरोपीले धम्की दिइरहेको छ ।” आरोपी मृतकहरू पढ्ने कलेजका शिक्षक रहेको उनले बताए । आफ्नो एउटैमात्र छोरी गुमाएको पीडामा रहेका केसी जसरी पनि राज्यले आफूलाई न्याय दिलाउनुप¥यो भन्छन् । कानुनमा कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणीको अपराध गरेको मानिन्छ । यस्तो अवस्थामा करणी भएको ३५ दिनभित्र नालिस दिनुपर्छ । १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए आठदेखि बाह्र वर्षसम्म, १४ वर्ष वा सोभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए छ वर्षदेखि १० वर्षसम्म, १६ वर्ष वा सोभन्दा बढी २० वर्षभन्दा कम उमेरकी बालिका भए पाँच वर्षदेखि आठ वर्षसम्म, २० वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए पाँचदेखि सात वर्षसम्म र लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेमा तीन महिनादेखि छ महिनासम्म कैद हुने व्यवस्था छ । प्रहरीको तथ्याङ्कअनुसार १८ वर्षको बलात्कार घटना हेर्ने हो भने आर्थिक वर्ष २०५१÷०५२ मा ११२ वटा घटना थिए भने २०७१÷०७२ मा आइपुग्दा ९१२ घटना भएको देखिएको छ । पूर्व सभासद् तथा अधिवक्ता खिमलाल देवकोटा भन्नुहुन्छ, “अपराध भइसकेपछि कार्बाही गर्नेभन्दा पनि अपराध नहुने स्थिति सिर्जना गर्नेतर्फ राज्यको ध्यान जानुपर्छ ।” महिलालाई अधिकार नै कम रहेको बताउँदै देवकोटाले भएका अधिकार प्रयोग गर्न दिने हो भने महिलामाथि हुने हिंसा न्यून हुने तर्क गर्नुभयो । त्यसो त विकसित मुलुक पनि महिला हिंसाका घटना उत्तिकै सार्वजनिक पाइन्छ । सन् २०१४ मा बढी महिला हिंसा भएका मुलुकको दस सूचीमा अमेरिका पहिलो सूचीमा परेको थियो । गत वर्ष अमेरिकामा ८९ हजार २४१ महिला हिंसामा परेका थिए । यस्तै दोस्रोमा भारत परेको छ, जहाँ २१ हजार ३९७ महिला हिंसामा परेका थिए भने तेस्रोमा बेलायतमा १५ हजार ८४ महिलामाथि हिंसाका घटना सार्वजनिक भएका थिए ।