अमेरिकासँग वार्ताको लागि सिरिया तयार
सिरियाली राष्ट्रपति बसार अल असादले सिरिया संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न तयार रहेको जनाउनु भएको छ । असादले अमेरिकी टेलिभिजन च्यानल सिबीएसलाई बिहीबार दिनुभएको एक अन्तर्वातामा सो खुलासा गर्नुभएको हो । तर वार्ता आपसी सम्मानको आधारमा हुनुपर्ने असादले बताउनुभएको छ । सिबीएस टेलिभिजनका पत्रकार चार्लि रोसेलेसँगको सो अन्तवार्तामा सिरियाको सिद्धान्तअनुसार हरेक वार्ता सकारात्मक हुन्छ भनी असादले बताउनु भएको छ । सिरिया र अमेरिकाबीचको सम्बन्धको विषयमा गरिएको प्रश्नमा असादले प्रत्यक्ष संवाद नभएको बताउनुभएको छ । अमेरिकी विदेश विभागले हालैमात्र सिरियामा जारी द्वन्द्व अन्त्यको लागि हुने कनैपनि सम्झौतामा असाद कहिल्यै पनि सम्झौताको पात्र हुन नसक्ने बताएका थिए । सिरियाका राष्ट्रपति बसार अल असादको राजिनामाको मागगर्दै सिरियामा सुरु भएको जनआन्दोलन चार वर्ष पूरा भइ पाँचौ वर्षमा प्रवेश गरेको छ । सो आन्दोलन सुरुका दुई वर्षपछि नै गृहयुद्धमा परिणत भएको थियो । सिरियामा जारी द्वन्द्वको कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा व्यक्ति घाइते भएका छन् । त्यसैगरी सिरियाभित्र र विभिन्न छिमेकी राष्ट्रमा गरी लाखौँ व्यक्ति विस्थापित भएका छन् ।