इजिप्टमा सन् २०१२ को फुटबल दङ्गाका लागि एघार व्यक्तिलाई मृत्युदण्ड दिने अदालतको निर्णय
इजिप्टमा सन् २०१२ मा भएको रङ्गशाला दङ्गाका लागि भएको पुनः सुनुवाइमा एक अदालतले ११ जना फुटबल प्रशंसकलाई मृत्युदण्डको निर्णय सुनाएको छ । नहरयुक्त नगर पोर्ट सइदमा भएको उक्त दङ्गामा ७४ व्यक्तिको मृत्युभएको थियो । तल्लो अदालतले यस दङ्गामा संलग्न भएको भनी २१ व्यक्तिलाई मृत्युदण्डको निर्णय दिएको थियो र पुनरावेदन अदालतले यस विषयमा ७३ व्यक्तिमाथि पुनः सुनुवाइको आदेश दिएको थियो । सन् २०१२ मा उक्त नगरको समूह अल–मार्सी तथा काइरोको अल–अहलीबीच खेल भएको थियो र खेलपछि दङ्गा आरम्भ भएको थियो । आइतबार निर्णय ११ जना फुटबल समर्थकमाथि दिइएको हो र यसलाई इजिप्टको ग्रान्ड मुफ्तीमा पुनरावलोकनका लागि पठाइएको छ । यस अदालतले यी फुटबल समर्थक तथा उनीहरूका प्रतिबादी माथिको निर्णयमा अन्तिम निर्णय मे ३० मा दिनेछ । यसमा ७३ व्यक्तिलाई प्रतिबादी बनाइएको छ र त्यसमा नौ प्रहरी अधिकारी तथा अल–मार्सीका तीन अधिकारी पनि समावेश छन् । बाँकी अल–मार्सी क्लबका समर्थक रहेका छन् । अदालतले मृत्युदण्डको निर्णय सुनाइएका दुई व्यक्तिलाई हालसम्म पक्राउ गर्न सकिएको छैन । सुरक्षाका कारण काइरोमा राखिएको उक्त अदालतको सुनुवाइमा पीडित तथा प्रतिवादी कसैका पनि परिवार उपस्थित भएका थिएनन् । यस निर्णयमा पुनरावेदन गर्न सकिन्छ । पोर्ट सइद रङ्गशालामा भएको उक्त दङ्गापछि कायरोमा केही दिनसम्म हिंसा फैलिएको थियो र त्यसमा सुरक्षाकर्मीसँगको भिडन्तमा थप १६ व्यक्तिको मृत्यु भएको थियो । तल्लो अदालतले २१ व्यक्तिलाई मृत्युदण्डका निर्णय सुनाएपछि उक्त नगरमा पुनः दङ्गा फैलिएको थियो र त्यसमा करिब एक दर्जन व्यक्तिको मृत्युभएको थियो ।