पाप धुरीबाट करायो, ग्याफ्नेका हत्यारा १७ वर्षपछि पक्राउ
सत्र वर्षअघि हत्या गरिएका अमेरिकी नागरिक थोमस इ ग्याफ्नेको हत्यामा संलग्न गोकुल भन्ने ढालबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सेन्ट जेभियर्स स्कुलका शिक्षकसमेत रहेका ग्याफ्नेको हत्यामा संलग्न दोलखा फस्कुका ४२ वर्षीय खड्कालाई सोमबार नेपाल–भारत सिमानाको काँकडभिट्टाबाट महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । २०५४ मङ्सिर २८ गते राति ललितपुरको झम्सीखेलमा रहेको कोठा नजिकै धारिलो हतियार प्रहार गरी ६५ वर्षीय ग्याफ्नेको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । ग्याफ्नेले घरेलु कामदारको रुपमा काममा राखेपनि बारम्बार तलब माग्दा पनि नदिएपछि खुकरी प्रहार गरी हत्या गरेको खड्काले प्रहरीलाई बयान दिएका छन् । निजको हत्या गरेपछि दराजमा रहेको नगद रु २२ हजार लिएर खुकुरी त्यहीँ छाडी भागेर अर्को दिन कलङ्कीबाट काँकडभिट्टा हुँदै भारत गएको खड्काले बताएका छन् । खड्कालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । भारतमा रहँदा भरीया र मजदुरको रुपमा खड्काले काम गर्ने गरेका थिए ।