भूकम्पमा नेपाली काँग्रेसले रु एक करोड सहयोग राहत उपलब्ध गराउने


congressनेपाली काँग्रेसले हालै आएको भूकम्पबाट पीडित जनतालाई राहत उपलब्ध गराउन रू. एक करोड उपलब्ध गराउने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उपसभापति रामचन्द्र पौडेलले आफ्नो दलले रू. एक करोड भन्दाबढी रकम उपलब्ध गराउने लक्ष्य लिएको र यसका लागि राष्ट्रिय वाणिज्य बैंकमा नेपाली काँग्रेस भूकम्पपीडित सहयोग कोषको नाममा ११३०००३७६३०१ नम्बरको खाता खोलिएको पनि जानकारी दिनुभयो । राहत सङ्कलन पछि प्रधानमन्त्री दैबीप्रकोप उद्धार कोषमा सो रकम उपलब्ध गराइने बताउँदै उहाँले भूकम्पपीडितलाई सहयोग पु¥याउन विभिन्न आठ समिति गठन गरिएको पनि उल्लेख गर्नुभयो । अनुगमन समितिमा शेरबहादुर देउवा, भूकम्प राहत समन्वय समितिमा उपसभापति पौडेल, सूचना सङ्कलन तथा सम्प्रेषण समितिमा कृष्णप्रसाद सिटौला, राहत सङ्कलन तथा परिचालन समितिमा गोपालमान श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्पर्क समितिमा सुजाता कोइराला, खाद्य सामग्री व्यवस्थापन समितिमा मानबहादुर विश्वकर्मा, उपचार व्यवस्थापन समितिमा डा सशाङ्क कोइराला र शिविर व्यवस्थापन समितिमा बलबहादुर केसी रहनुभएको छ ।सङ्कटको यो घडीमा सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर उद्धार र पुनःनिर्माण कार्य गर्नुपर्ने, राहतका कार्यलाई बैज्ञानिक तथा पारदर्शी बनाइनुपर्ने, निष्पक्ष तरिकाले सही तथ्याङ्क लिएर पीडितको वर्गिकरण गर्नुपर्नेमा जोड दिँदै उपसभापति पौडेलले आफ्नो दलका कार्यकर्तालाई पनि आ–आफ्नो क्षेत्रमा गाउँ कमिटी र नगर कमिटी बनाएर उद्धारका कार्यमा जुट्न निर्देशनसमेत दिइसकेको बताउनुभयो । दीर्घकालीन योजनामा वस्ती व्यवस्थापनका लागि सबैलाई भूकम्प प्रतिरोधात्मक सुरक्षित र साना घर निर्माण गर्नका लागि सुझाव दिने प्रयत्न रहेको र बिपतको यस घडीमा नेपाली प्रेस जगतले निर्वाह गरेको भूमिकाको सराहना गर्दै सङ्कटको बेला दलीय राजनीतिलाई असर पार्नेगरी प्रचारप्रसार गर्नेप्रति सचेत रहन पनि आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?