प्रधानमन्त्री कोइराला र बेलायतका प्रधानमन्त्री क्यामरुनबीच टेलिफोन वार्ता
प्रधानमन्त्री सुशील कोइरालाले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री डेभिड क्यामरुनसंग टेलिफोन वार्ता गर्नु भएको छ । वार्तामा प्रधानमन्त्री कोइरालाले बेलायतमा हालै सम्पन्न संसदीय निर्वाचनमा बहुमत प्राप्त गरी पुन प्रधानमन्त्रीको महत्वपूर्ण जिम्मेवारीलाई निरन्तरता दिने अवसर पाउनु भएकोमा क्यामरुनलाई बधाई दिनु भएको थियो । दुई प्रधानमन्त्रीको बीचमा नेपाल बेलायत सम्बन्ध, नेपालमा हालै आएको विनाशकारी भूकम्प , भुकम्प पीडितहरुको खोजी,उद्धार, राहत पुनस्थापना र पुननिर्माणको विषयमा कुराकानी भएको थियो । वार्तामा प्रधानमन्त्री कोइरालाले भूकम्प जस्तो प्राकृतिक प्रकोपलाई सबैको मद्दतले सामना गरेर नेपाल अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्प आउने वित्तिकै बेलायत सहितका मित्रराष्ट्रहरुबाट प्राप्त भौतिक, प्राविधिक,आर्थिक र दक्ष जनशक्तिको सहयोगले खोजी,उद्धार र राहत कार्यमा ठूलो सहयोग पुगेको उल्लेख गर्नु भयो । उहाँले बेलायत सरकार र बेलायती नागरिकहरुले नेपालमा परेको दुःखमा गरेको सहयोगको सराहना पनि गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल र बेलायत बीचको कुटनीतिक सम्बन्धको द्विशताब्दीको चर्चा गर्दै आउने दिनमा दुइदेश बीचको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गर्नु भयो । टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले यही बैशाख १२ र २९ गते गएको भूकम्प र तिनका पराकम्पनबाट भएको क्षतिमा खोजी र उद्धारको चरण समाप्ति तिर गएको र हाल राहत तथा पुनस्थापनामा काम हुन थालेको बताउदै पुनस्थापना र पूर्वाधारहरुको पुननिर्माणमा बेलायतको सहयोग अपेक्षित रहेको बताउनु भएको थियो । वार्तामा बेलायती प्रधानमन्त्री क्यामरुनले प्रधानमन्त्री कोइराला र उहाँ मार्र्फत नेपाली जनता र खास गरी भूकम्प पीडित जनता प्रति सहानुभूति र आफन्त गुमाएकाहरु प्रति समवेदना प्रकट गर्नुभएको थियो । उहाँले नेपाललाई आवश्यक सहयोग गर्न बेलायत सदा तत्पर रहेको बचन दिनुभएको थियो ।