अमेरिकी राष्ट्रपति ओबामाद्वारा इरानसँग पारमाणविक सम्झौतामा संसदको भनाइ रहने विधेयकमा हस्ताक्षर


Barack Obamaअमेरिकी राष्ट्रपति बराक ओबामाले संसदलाई इरानसँग हुने पारमाणविक सम्झौता पुनरावलोकन गर्ने वा त्यसलाई अस्वीकार गर्नसक्ने अधिकार दिने विधेयकलाई यसअघि जोड दिएरै विरोध गरेपनि त्यसमा हस्ताक्षर गर्नुभएको छ । इरानसँग सम्झौता गर्ने कुरा राष्ट्रपति ओबामाको विदेश नीतिको आकाँक्षा भए पनि नयाँ कानुनले उहाँलाई एक्लो रूपमा यस्ता विषयमा काम गर्न रोक लगाउँछ । उहाँले उक्त विधेयकमा शुक्रबार ह्वाइट हाउसमा कुनै समारोह आयोजना नगरिकनै हस्ताक्षर गर्नुभयो । अमेरिका, चीन, फ्रान्स, रसिया, बेलायत तथा जर्मनीका वार्ताकारहरू जुन महिनाको अन्त्यसम्म तेहरानसँग सम्झौता गर्न प्रयास गरिरहेका छन् । इजरायल तथा पर्सियाका खाडी मुलुकहरू इरानले आर्थिक प्रतिबन्ध हटाउन आफ्नो पारमाणविक आकाँक्षालाई पछि सारेको दाबी गर्छन् । यस कानुनले राष्ट्रपति ओबामालाई इरानसँगको सम्झौता भएको तीस दिनसम्म काम गर्न प्रतिबन्ध लगाउँछ र त्यस समयमा सांसदले उक्त सम्झौतामा काम गर्नसक्छन् । संसदले यस्तो सम्झौतालाई अस्वीकार गर्न एक निर्णय पारित गर्नुपर्छ र त्यसमा राष्ट्रपति ओबामालाई निषेधाधिकार हुनेछ । राष्ट्रपति ओबामाले यसअघि यस्तो पूर्व सर्तलाई इरानले कहिल्यै स्वीकार नगर्ने भनी त्यसमा निषेधाधिकार प्रयोग गर्ने चेतावनी दिनुभएको थियो । शुक्रबार राष्ट्रपति ओबामाले वासिङटनमा आयोजित यहुदी भेलामा आफूले कडा सम्झौता चाहेको बताउनुभयो । उहाँले आफूले खराब सम्झौता नचाहेको बताउनुभयो । उहाँले यस्तो सम्झौतामा आफ्नो नाम रहने र त्यस्तो सम्झौताले बचन दिएका कुरा पुरा गराउने विषयमा आफ््नो भन्दा बढी कसैको पनि व्यक्तिगत सरोकार नहुने बताउनुभयो । सिनेटका विदेश सम्बन्ध समितिका अध्यक्ष टेनेसीका रिपब्लिकन सिनेटर बब कोर्करले उक्त विधेयक मस्यौदा गर्न सहयोग गर्नुभएको थियो र उहाँले राष्ट्रपति ओबामाको प्रशासनले संसदले उठाएका चासोका विषय सम्बोधन गर्ने कुरा सुनिश्चित हुनुपर्ने बताउनुभयो । उहाँले इरानसँग गरिने कुनै पनि सम्झौताका कारण तेहरानले पारमाणविक हतियार विकास गर्नसक्ने छैन भनी अमेरिकी जनतालाई आश्वासन गर्ने कुरा रुजु गर्ने तथा कार्यान्वयन गर्ने व्यवस्था थपिने कुराबाट वार्ताकारहरूले फाइदा लिनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?