मेलबर्नमा दूतावासको टोलीसहित एमआरपी पासपोर्ट सेसन
भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालयमा आगामी जुन ६ तारिखका दिन पासपोर्ट सेसन हुने भएको छ । नेपाली राजदूतावास क्यानबेराबाट टोली मेलबर्न जाने र जुन ६ र ७ तारिख दुई दिन त्यहाँका सेवाग्राहीलाई एमआरपी फर्म भर्ने तरिकाको विषयमा जानकारीमूलक कार्यशाला आयोजना गर्ने भएको हो । यस कार्यशालामा रितपूर्वक भरिएका फर्महरु संकलन समेत गर्ने तयारी भएको छ । यदि तपाईं मेलबर्न या आसपास हुनुहुन्छ र एमआरपी बनाउने सोच्दै हुनुहुन्छ भने यो तपाईंका लागि निकै लाभदायी हुनेछ, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एमएनटीभीमार्फत आग्रह गर्नुभएको छ । मुख्यतः अष्ट्रेलियामा रहने नेपाली समूदायका सदस्यहरुले एमआरपीका निम्ति फर्म भर्दा धेरै नै गल्ती देखिएको भन्दै यसअघि सिड्नी, एडिलेडमा यस्तै कार्यशाला एनआरएन अष्ट्रेलिया र दूतावासको आयोजनामा सम्पन्न भइसकेका छन् । यस्तो सेसन निकै प्रभावकारी भएको भन्दै अन्य राज्यबाट समेत संयोजन गरी दूतावासको टोलीलाई निमन्त्रणा गरिएको छ । महावाणिज्यदूत योञ्जनले हस्ताक्षर गरी जारी गर्नुभएको विज्ञप्ति अनुसार उक्त दिन पासपोर्ट बनाउनका निम्ति फर्म बुझाउन आउनेहरुले ५ प्रति फोटो, सक्कली पासपोर्ट, पासपोर्टको जानकारीसहितको पहिलो पेजको फोटोकपी, नागरिकताको प्रमाणपत्रको फोटोकपी, १ सय ९० डलरको मनी अर्डर वा नगदै लिएर आउन आग्रह गर्नुभएको छ । अहिले एमआरपी बनाउनका निम्ति अष्ट्रेलियाका विभिन्न राज्यमा रहनेहरु आफैं क्यानबेरासम्म जान बाध्य थिए । उनीहरुले हुलाक मार्फत पासपोर्ट र फर्म पठाएर पनि यस्तो सुविधा लिनसक्ने बनाइएको छ, तर यसमा धरै विश्वस्त हुन नसकी स्वयं भ्रमण गर्ने गरेका छन् । दूतावासको टोली स्वयं घरदैलोमा पुग्ने भएपछि मेलबर्नबासी नेपालीहरु लाभान्वित हुने भएका हुन् । एमआरपी भर्नुअघि एमएनटीभीको सहकार्यमा दूतावास, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले निर्माण गरेको यो भिडियो हेर्नुहोस्
https://www.facebook.com/MNTVAustralia/videos/903092149754633/?l=1976028439366617228