भूकम्पको मौकामा चोरी गर्ने गिरोह पक्राउ, सामान किन्ने पनि खोरमा
भूकम्पपछिको असहज अवस्थाको फाइदा उठाँउँदै चोरी गर्ने कार्यमा संलग्न तीन समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले शङ्खमूलमा चोरीमा संलग्न समूहका भीमबहादुर तामाङ, बिजुली बैठा, राज भन्ने युवराज तामाङ र सपन बैठालाई पक्राउ गरेको छ । चोरीको सो सामान किन्ने भारत घर भएका विनयकुमार जैसवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यस्तै स्वयम्भू, किमडोलमा चोरीमा संलग्न सुमन थापा, जोरपाटी नयाँबस्तीमा चोरीमा संलग्न खुडे भन्ने सन्तोष परियारलाई पनि महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बुद्धि गुरुङले चोरीका केही सामान ती चोरहरूले रौतहट, इटहरीसम्म लगेर बेचेको अवस्थामा फिर्ता ल्याइएको बताउनुभयो । उहाँले वैशाख १२ गतेको भूकम्पपछि चोरी, लुटपाटमा संलग्नविरुद्ध अभियाननै सञ्चालन गरी कारबाही अगाडि बढाइएको र सो क्रममा शङ्कास्पद ६१ जनालाई महाशाखाले पक्राउ गरी अनुसन्धानपछि दोषी देखिएका ३० जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो ।
गुण्डागर्दी गर्ने दुई पक्राउ
वैदेशिक रोजगार विभाग ताहाचलमा गुण्डागर्दी गर्दै सेवाग्राहीका कागजात नियन्त्रणमा लिई आफूले भनेअनुरुप फारम भर्न लगाउने र रकम असुल्ने दुईजनालाई महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिलन राई र अर्जन बुढाथोकी छन् ।