क्रिकेट विकास बोर्ड गठनको प्रस्ताव
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव युवराज लामाले क्रिकेट विकास बोर्ड गठन गर्न प्रस्ताव गर्नुभएको छ । राखेपद्वारा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव लामाले नेपाल क्रिकेट सङ्घ (क्यान)मा भइरहेको विवाद समाधानको साथै क्रिकेट खेलको विकास र विस्तारका लागि पनि क्रिकेट विकास बोर्ड गठन गर्नुपर्ने भनाइ व्यक्त गर्नुभएको हो । उहाँले सरकारको मातहतमा गठन गरिने उक्त बोर्ड ‘नेपाल क्रिकेट विकास बोर्ड’ नामकरण गरिने प्रस्ताव राखिने बताउनुभयो । उक्त बोर्डमा २४ जना सदस्य नियुक्त गरिनेछ । उहाँले उक्त प्रस्तावमा कानुनी समस्या नभएको बताउँदै प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा क्रिकेट खेल र खेलाडीको समस्या पूर्णरुपमा समाधान हुने विचार व्यक्त गर्नुभयो । त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले यस प्रस्तावले क्रिकेट खेल र खेलाडीको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।