सामूहिक बलात्कारमा संलग्नलाई जनही १० वर्ष कैद, झड्केलो छोरी बलात्कार गर्ने बाबुलाई नौ वर्ष जेल
सामूहिक बलात्कार गर्ने छ जनालाई जिल्ला अदालत इलामले जनही १० वर्ष कैद फैसला सुनाएको छ । तीन वर्षअघि एक महिलालाई बजारबाट घर फर्कने क्रममा सामूहिक बलात्कार गर्ने बाँझो–२ का फिरज लिम्बू, केशर लिम्बू, झापा दमक–१ का आश्विन राई, प्रवीन कुमाल, अनील लिम्बू र सुरज कुमालविरुद्ध सो फैसला सुनाएको हो । सामूहिक बलात्कारमा संलग्न उनीहरू हाल फरार रहेकाले मुल्तबीबाटै उनीहरूलाई कैद सजाय सुनाइएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले उनीहरूलाई मुलुकी ऐन जर्बजस्ती करणी महलको ३ (५) बमोजिम जनही पाँच वर्ष कैद र सोही महलको ३ (क) बमोजिम थप पाँच÷पाँच वर्ष कैद र पीडितलाई रु १०÷१० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
यसैबीच, झड्केलो छोरीलाई एक वर्षदेखि बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले नौ वर्षको कैद सजाय सुनाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले काभ्रे नासिका–६ घर भई मध्यपुरथिमी नगरपालिका–७ बस्ने वर्ष ३७ को ‘आशिष’ भन्ने कृष्णहरि बस्नेतलाई नौ वर्ष कैद र पीडितलाई रु ७५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार खड्गप्रसाद अधिकारीले जानकारी दिनुभयो । पीडित बालिकाको वयानअनुसार आमालाई पसलमा पठाएर छोरीलाई बलात्कार गर्ने क्रम नरोकिएपछि घर छोडेर जाने सर्तमा उनले आमालाई जानकारी दिएपछि घटना प्रहरीसम्म पुगेको थियो । बाह्र वर्षकी झड्केलो छोरीलाई कसैलाई भनेमा आमा र छोरी दुवैलाई मारिदिने डर धम्की दिई बस्नेतले पटकपटक बलात्कार गरेको आरोपमा छोरी र श्रीमतीले गत कात्तिक ७ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको थाहा पाएलगत्तै श्रीमतीलाई चिठ्ठी लेखेर फरार भएपनि महानगरीय प्रहरी वृत्त थिमिले बस्नेतलाई गत मङ्सिर ८ गते थिमिबाटै पक्राउ गरेको थियो ।