सिड्नीमा रहेको शिवको विशाल मूर्तिसहितको मिन्टो मन्दिर अब बन्द ?


minto सिड्नीको मिन्टोमा रहेको शिव मन्दिरलाई गैरकानूनी भन्दै बन्द गरिनुपर्ने बताइएको छ । क्याम्पवेलटाउनका काउन्सिलर फ्रेड ब्रोगले यसलाई अवैधानिक भनेका छन् भने बन्द हुनुपर्ने पनि बताएका छन् । मन्दिर सञ्चालनको लागि बनाइएको मुक्ति गुप्तेश्वर मन्दिर समाजका अध्यक्ष प्रेम मिश्रले यस ठाउँमा वर्षभरिमा तीन पर्व मनाउने, सांस्कृतिक जात्रा गर्ने र प्रदर्शनी गर्नका लागि यस महिनाको काउन्सिल बैठकमा राखेको प्रस्तावलाई पनि अस्वीकृत गरिएको छ । काउन्सिलले मन्दिरका कारण ध्वनी प्रदूषण भएको, ट्राफिक समस्या आएको, चाडपर्व र जमघट विनासूचना सञ्चालन गरिएको लगायतका विषयमा सर्वसाधारणबाट गुनासो आएको कारण यसतर्फ आफ्नो कदम अगाडि बढाएको हो । यस विषयमा बारम्बार ध्यानाकर्षण गराउँदा पनि समस्या यथावत रहेपछि काउन्सिलर ब्रोगले भनेका छन्, हामी अब एक कदम अघि बढेर यसलाई बन्द गराउनै पर्ने अवस्था आएको छ । उनी भन्छन्, गैरकानूनी रुपमा पर्वहरु मनाउने र स्थानीयवासीको विषयमा बेवास्ता गर्दै सञ्चालन हुने गतिविधिहरु सहन गर्न सकिने कुरा होइनन् । काउन्सिलले दिएको रिपोर्टमा यस ठाउँमा सन् १९९६ मा टेनिस कोर्ट बनाउने अनुमति दिइएको थियो । तर, विनास्वीकृति भूमिगत प्रार्थनाकेन्द्र र योगशाला तथा लाईब्रेरी बनाइएको रिपोर्टमा आरोप लगायएको छ । १९९६ मा स्वीकृति दिइएपछि सन् २००० मा यसलाई सामूदायिक र शैक्षिक प्रयोजनमा प्रयोग गर्न पाउँ भनी दिएको निवेदन अस्वीकृत गरिएको बताइएको छ । काउन्सिलर ब्रोगले भनेका छन्, जे प्रयोजनका लागि यो ठाउँको अनुमति लिइएको हो त्यही नै हुनुपर्दछ । र, यसलाई बन्द गर्नका निम्ति उपाय खोज्न मैले काउन्सिलका महाप्रबन्धकलाई भनिMINTO1सकेको छु । एकातिर यस्तो रिपोर्ट आएपछि अर्कोतर्फ एडभर्टाइजर नामक पत्रिकाले मन्दिरका सञ्चालक प्रेम मिश्रसँग प्रतिक्रिया लिएको छ । मिश्रले काउन्सिलको कदमको आलोचना गरेका छन् र भनेका छन्, क्याम्पवेलटाउनमा शायद बहुसांस्कृतिकता भनेको यही होला । मुखले बहुसांस्कृतिक भनेपनि यस्तो गर्न थालेपछि कहाँ बाँच्छ बहुसंस्कृति, उनको प्रतिक्रियामा छ । एकातिर स्थिति यस्तो छ भने स्थानीयबासिन्दाहरु मुख्य समस्या नै ट्राफिक जामको भएको बताउँछन् । जब यहाँ कार्यक्रम हुन्छन् ट्राफिक जामको ठूलो समस्या हुन्छ, यहीँबाट त्यहाँ पुग्न पनि २० मिनेटभन्दा बढी लाग्छ, एक स्थानीयको प्रतिक्रिया छ । श्रोत :एडभर्टाइजर

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?