नायिका बनाउने नाममा किशोरीको महिनौं बलात्कार
नेपालगञ्ज कोहलपुरकी एक किशोरीलाई तीन युवकले नायिका बनाइदिने भन्दै महिनौं बलात्कार गरेको खुल्न आएको छ । तीन युवामध्ये दुईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा लगी एक महिनासम्म बलात्कार गरेको र बन्धक बनाएको भन्दै किशोरीले प्रहरीमा उजुरी गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । गत वैशाख ३० गते पोखरामा सुनचाँदी पसल गर्ने रावल सिंह र राजा सिंहले उनलाई पोखरा लगेका थिए । उनीहरुको साथमा सहयोगी सिमान्त दुलाई पनि थिए । हिरोइन बन्ने सपना बोकेर हिंड्की किशोरीलाई बाटोमा बेहोस बनाउने औषधि खुवाई पोखरा पुर्याइएको थियो । उनलाई बेहोस हुने औषधि नै खुवाएर बारम्बार बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । पोखराको एक होटलमा राखी बलात्कार गर्ने क्रम जारी राख्ने क्रममा किशोरी भागेक थिइन् । उनी कोहलपुर आई बाँके प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । उनले जेठ २८ गते मात्रै उजुरी दिएकी छिन् । किशोरीले दिएको जानकारी अनुसार सुरुमा मोटरासईकलमा कोहलपुरबाट लगेका युवाहरुले जंगलमा नै लठ्याउने औषधि खुवाएर बलात्कार गरेका थिए । त्यसपछि वीरगञ्जमा लगी होटलमा राखेर र पोखरामा पनि होटलमै बन्धक बनाई बलात्कार गरेको किशोरीको दाबी छ । घटनाको अनुसन्धान भइरहेको र अन्यको पनि संलग्नता हुनसक्ने भन्दै प्रहरीले जानकारी गराएको छ । दुई अभियूक्त पक्राउ परिसकेको अवस्थामा घटनाको वास्तविकता चाँडै सार्वजनिक हुने प्रहरीले जनाएको छ ।