उत्तर कोरियाबाट छोटो दूरीको तीन क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दाबी गरेको केही सातापछि आइतबार छोटो दुरीको तीन क्षेप्यास्त्रको समुद्रमा परीक्षण प्रक्षेपण गरेको जानकारी दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयले दिएको छ । उत्तर कोरियाले वनसान नगर नजिकै केएन–०१ नामक तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको मन्त्रालयका एक प्रवक्ताले बताए । उक्त क्षेप्यास्त्रले १०० किलोमिटरसम्मको दूरीमा प्रहार गर्नसक्ने ती प्रवक्ताले बताए । दिउँसोको ४ः३० बजे आरम्भ भएको प्रक्षेपण २६ मिनेटसम्म चलेको बताइएको छ । प्योङयाङले मे ९ मा एसएलबीएमको सफलतापूर्वक परीक्षण गरेको र त्यो जोगिनसक्ने र दोस्रो चरणको आक्रमण गर्नसक्ने क्षेप्यास्त्र प्रविधिमा आधारित भएको दाबी गरेको छ । यस्तो क्षेप्यास्त्रको विकास भएमा उत्तर कोरियाको पारमाणविक चुनौती नयाँ स्तरमा पुग्ने र त्यो कोरियाली प्रायःद्वीपभन्दा निकै पर जाने बताइएको छ । केही विशेषज्ञले परीक्षण प्रक्षेपणको तस्बिरको स्वरूप डिजिटल रूपमा परिवर्तन गरिएको हुनसक्ने बताउँदै यसको आधिकारिकतामै प्रश्न गरेका छन् ।