पेरिस वायु प्रदर्शनीमा पाकिस्तानी युद्धक विमानको पहिलो खरिद आदेश


pakistanपेरिस वायु प्रदर्शनीमा पाकिस्तानले आफ्नो जेएफ–१७ थन्डर युद्धक विमानको पहिलो खरिद आदेश प्राप्त गरेको पाकिस्तानी वायुसेनाका प्रवक्ताले सोमबार बताएका छन् । पाकिस्तान आफ्नो सैनिक सामग्री बिक्री बढाउन चाहन्छ र यस्तो आदेश उसको लामो समयदेखिको उद्देश्य भएको छ ।  पाकिस्तानमा चीनको सहयोगमा निर्माण भएको जेट विमान हलुका छ र त्यसले बहुभूमिका निर्वाह गर्नसक्छ । यो विमान अवाजको गतिभन्दा दुई गणा छिटो उड्नसक्छ र यो ५५ हजार फिटको उचाइसम्म पुग्नसक्छ । ‘पेरिस एयर सो’मा भाग लिइरहेका पाकिस्तानी वायु सेनाका कप्तान सयद मुहमद अलीले उक्त विमानको खरिद आदेशले अन्तिम रूप प्राप्त गरेको बताउनुभयो । उहाँले यस विषयमा थप विवरण दिनुभएन । उहाँले खरिद आदेशमा निर्णय भएको बताउँदै खरिद गर्ने संवेदनशीलताका कारण संस्थाको नाम, विमानको सङ्ख्या तथा उपलब्ध गराउनुपर्ने मिति बताउन अस्वीकार गर्नुभयो । पाकिस्तानी वायुसेनाको वेबसाइटमा कप्तान खलिद महमुदले खरिद गर्ने मुलुक एसियाली भएको र विमान सन् २०१७ मा उपलब्ध गराउने व्यवस्था भएको उल्लेख गर्नुभएको छ । उहाँले पेरिसमा यस वर्ष जेएफ–१७ बिक्रीका लागि ८० व्यक्तिले प्रबर्धनको काम गरेको र बजार अभियानलाई अगाडि बढाएको उल्लेख गर्नुभएको छ । पाकिस्तानमा ठूलो र राम्रोसँग कोष उपलब्ध भएको सेनाले प्रतिरक्षा उपकरण खरिद गर्ने गर्छ र यस्तो उपकरण विशेष गरी चीनबाट प्राप्त हुन्छ । पाकिस्तानले नयाँ जेएफ–१७ युद्धक विमान, उसले बनाएको ट्याङ्क तथा गुप्तचरीमा प्रयोग हुने ड्रोन बिक्री गरी सैनिक उपकरण वृद्धि गर्न र विदेशी मुद्रा कमाउन चाहेको छ । पाकिस्तानी जेएफ–१७ को बिक्री हुनुको प्रमुख कारण त्यसको लागत भएको विश्लेषकहरूले विश्वास गरेका छन् । यो विमान अमेरिकामा बनेको एफ–१६ विमानभन्दा सस्तो भएको बताइएको छ । ‘पेरिस एयर सो’ जुन १५ देखि २१ सम्म सञ्चालन हुनेछ र यो अन्तिम तीन दिन सार्वजनिक रूपमा खुला हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?