प्रधानमन्त्री एबोटको पत्रले दिएको सन्देश


prime ministerप्रधानमन्त्री टोनी एबोटले नेपालको सहयोगका विषयमा दिनुभएको लिखित सन्देशले नेपाली समूदायका बारेमा अष्ट्रेलियाको प्रशासन र राजनीतिक वृत्त अनभिज्ञ छैन भन्ने देखाएको लिबरल फ्रेण्डस् अफ नेपालले जनाएको छ । लिबरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापितले भन्नुभयो, “हामीले भूकम्प आएको समयदेखि नै लगातार फलोअप गरिरहेका थियौं । सुरुमा निकै कम मात्र सहयोग राशी घोषणा गरेको अष्ट्रेलियाले पछि मानवीय सहायता अन्तर्गत यसलाई बढाउने निर्णय गरेको हो । सुरुमा त कति ठूलो भूकम्प र कति धेरै क्षति भन्ने कुरा पनि खुलेको थिएन । पछि खुल्दै गयो र देशले ५ मिलियनबाट सहयोग राशी बढाएर २० मिलियन डलर बनाउने निर्णय गरेको छ ।” अझ स्वयं प्रधानमन्त्रीले नै लिबरल फ्रेण्डस् अफ नेपाललाई सम्बोधन गर्दै लिखित वक्तव्य पठाउनुले नेपाली समूदायको महत्व यहाँ उजागर भएको छ । लिबरल पार्टीको न्यू साउथवेल्स डिभिजनका स्टेट डाईरेक्टर टोनी नटलाई सम्बोधन गरी प्रधानमन्त्री एबोटले लेख्नुभएको पत्रमा भनिएको छ, “तपाईंको २८ अप्रिलमा नेपालको भूकम्पसम्बन्धी पत्रका लागि धन्यवाद । मलाई लाग्छ लिबरल फ्रेण्डस् अफ नेपालका अध्यक्ष श्री नापितले तपाईंलाई अष्ट्रेलियाको सहायताका बारेमा जिज्ञासा राख्नुभएको थियो । त्यसलाई मसम्म ल्याइदिनुभएकोमा धन्यवाद छ । सरकारले २० मिलियन जीवनबचाउने मानवीय सहायता अन्तर्गत खर्च गरिनेछ । साथै, उनीहरुको जीवन पुनस्र्थापना र आयमूलक कामका साथै बालबालिकाहरुलाई स्कूल पठाउने कार्यमा समेत यो परिचालन हुनेछ । कृपया नापितजीलाई यस भूकम्पमा परी प्रभावित हुनुभएकाहरुप्रति मेरो गहिरो समवेदना सुनाइदिनुहोला ।” एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष श्री नापितले भन्नुभयो, “पक्कै पनि यो सफलता मेरो मात्र होइन, पूरै नेपाली समूदायको सफलता हो । हामी देशबाट टाढा यहाँ आएका छौं, देशको राजनीतिक वाद र प्रतिवादमा मानिसहरु भुल्छन् । त्यसोभन्दा हामीले अष्ट्रेलियाकै राजनीतिमा चाहीँ चासो लिने हो भने समूदायको प्रतिष्ठा पनि बढ्छ र हामी यहाँको नीतिनिर्माण तहमा समेत केही गर्नसक्ने हैसियतमा पुग्छौं । नेपाली समूदायको एकतामा पनि यसले मद्दत गर्दछ ।” अष्ट्रेलियाले नेपालमा भूकम्प जानेवित्तिकैदेखि मानव उद्धारको कार्यमा सहयोग सुरु गरेको थियो । एनआरएन अष्ट्रेलियाले अन्य देशका एनआरएनभन्दा बढी सहयोग संकलन गरी पठाएको छ । अष्ट्रेलियामा नेपाली समूदाय मात्र होइन अन्य समूदाले पनि धेरैभन्दा धेरै सहयोग गरिरहेका छन् । पुननिर्माणमा समेत यहाँ विज्ञता हासिल गरिसकेका बौद्धिक जमात खटिएको छ । स्वयं अध्यक्ष शेष घले अष्ट्रेलियाबाटै हुनुहुन्छ र यतिबेला प्रधानमन्त्रीको विशेष दूत नियुक्त हुनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?