प्रजातन्त्रवादी नेतृ सुकीको दलले चुनावमा भाग लिने या नलिने विषयमा निर्णय गर्दै
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीले यसैवर्ष म्यानमारमा हुन लागेको आम निर्वाचनमा आफ्नो दल सहभागी हुने कि नहुने भन्ने बारेमा छिट्टै निर्णय गरिने बताउनुभएको छ । याङ्गोनमा शनिबार आफ्नो दलका केन्द्रीय स्तरका नेताहरुको सम्मेलनमा बोल्दै उहाँले सो भनाई राख्नुभएको हो । उहाँले देशमा २५ वर्षपछि पहिलो पटक आफ्नो दलले आम निर्वाचनमा सहभागिता जनाउने या सहभागी नहुने भन्ने बारेमा निर्णय गर्नुपर्ने भएको धारणा राख्दै यस विषयमा चाँडै नै निर्णय गरिने बताउनुभएको हो । म्यानमारमा आगामी अक्टोबर वा नोभेम्बर महिनामा आम निर्वाचन हुन लागेको छ । सो निर्वाचनलाई दशकौँसम्म सैनिक सरकार रहेको म्यानमारका लागि प्रजातान्त्रिक सुधारको एक प्रमुख अभियानका रुपमा पनि हेरिएको छ । म्यानमारमा सुधारका लागि यो निर्वाचन हुन लागेको प्रचार सरकारले गरेको छ । सरकारले प्रजातान्त्रिक सुधारका लागि यस आमनिर्वाचनलाई अघि सारेको बताइएको छ । तर वर्तमान संविधानले भने सुकीलाई राष्ट्रपति बन्नबाट बञ्चित गरेको छ । म्यानमारको जुन्ता सरकारले बनाएको यस संविधानप्रति म्यानमारको प्रमुख प्रजातान्त्रिक दलले भने विरोध गर्दै आएको छ ।