जी ७ को सम्मेलनमा रसियालाई आमन्त्रण गर्ने बारेमा निर्णय भइसकेको छैन– जापान
विश्वका ठूला औद्योगिक राष्ट्रहरूको संगठन जि७ (ग्रुप अफ सेभेन) को सम्मेलन जापानले आयोजना गर्ने भएको छ । जापानले आगामी वर्षको मे २६ र २७ मा सो सम्मेलनको आयोजना प्रस्ताव गरेको बताइएको छ । जापान सरकारका प्रवक्ताले मङ्गलबार सो जानकारी दिएका बताइएको छ । तर प्रवक्ताले सो सम्मेलनमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले निमन्त्रणा पाउनु हुनेछ कि छैन भन्ने बारेमा भने कुनै पनि निर्णय नभएको जानकारी दिनुभयो । मङ्गलबार राजधानी टोकियोमा आयोजित पत्रकार भेटका क्रममा जापान सरकारका प्रवक्ता योसिहिदे सुगाले भन्नुभयो– रसियाली राष्ट्रपतिलाई आमन्त्रण गर्ने कि नगर्ने भन्ने बारेमा भने कुनै निर्णय भइसकेको छैन । जापानी विदेशमन्त्रालयले दिएको जानकारीअनुसार सो सम्मेलनको प्रमुख एजेण्डा युक्रेन सङ्कट रहेको छ । सो सङ्कटको विषयमा छलफल हुने भएकाले रसियाको आमन्त्रण पनि चासोको विषय बनेको बताइन्छ । यसै वर्षमात्र जर्मनीमा सो सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलपछि जि७ का सदस्य राष्ट्रहरूका तर्फबाट एक संयुक्त वक्तव्य प्रकाशन गरेको थियो । सो विज्ञप्तिमा रसिया युक्रेनका विषयमा आक्रामक रुपमा लागिरहेकोले त्यसको विषयमा स्पष्ट पार्न तथा सार्वजनिक रुपमा स्पष्टिकरण प्रस्तुत गर्न भनिएको थियो । यसअघिको जि७ को सम्मेलनमा पनि रसियालाई आमन्त्रण गरिएको थिएन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति पुटिनलाई युक्रेनमा अनावश्यक रुपमा आक्रमक भएर लागेको भनेपछि पुटिनलाई यसमा आमन्त्रण गरिएको थिएन ।