ट्युनिसियामा भएको आमहत्याको जिम्मेवारी आईएसले लियो
ट्युनिसियाको पर्यटकीयस्थलमा करिब ४० व्यक्तिको हत्या गर्ने कार्य आफ्नो समूहले गराएको दाबी इस्लामिक स्टे्ट समूहले शनिबार गरेको छ । यसलाई ट्युनिसियामा हालका दिनमा सबैभन्दा नराम्रो आक्रमणको रूपमा लिइएको छ भने मर्नेमा प्रायः बेलायती पर्यटक परेको बताइएको छ । भूमध्यसागरीय पोर्ट एल कान्टावी पर्यटकीय क्षेत्रको पाँच तारे रियु इम्पेरियल मरहबा होटेलको तटीय एक छाता तल एक बन्दुकधारीले बन्दुक निकाली पर्यटकमाथि गोली प्रहार गरेपछि ती व्यक्तिको मृत्यु भएको हो । यस घटनामा दर्जनौँ अरु घाइते भएको बताइएको छ । ट्युनिसियाका प्रधानमन्त्री हबिब एसिदले ३८ व्यक्तिको मृत्यु भएको बताउनुभयो भने यसअघि स्वास्थ्य मन्त्रीले ३९ व्यक्तिको मृत्यु भएको उल्लेख गर्नुभएको थियो । एक अधिकारीले उक्त बन्दुकधारीको पनि मृत्यु भएको बताए । मर्नेमा प्रायः बेलायती नागरिक भएको बताइएको छ । बेलायती विदेशमन्त्री फिलिफ ह्यामोन्डले पाँच बेलायती नागरिकको मृत्यु भएको बताउनुभएको थियो । उहाँले थप व्यक्तिको मृत्यु हुनसक्ने उल्लेख गर्नुभयो ।