सहमतिविपरीत गएर मस्यौदा बनाए नमान्ने एमाओवादी नेतृत्वको मोर्चाको अडान


??????????????????????एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको भावनाविपरीत गएर संविधानको मस्यौदा गरिए त्यो मान्य नहुने निर्णय गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको गठबन्धनमा आबद्ध १४ दलको बैठकले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति, अघिल्लो संविधानसभाले गरेको निर्णय तथा दलहरूबीच भएका सहमतिको विपरीत नजान समेत आग्रह गरेको छ । यद्यपि बैठकले संविधान निर्माणका विषयमा अवरोध नगर्ने जनाएको छ । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले विगतका सहमतिविपरीत गएर मस्यौदा नगर्न बैठकले आग्रह गरेको जानकारी दिनुभयो । उहाँले केही राजनीतिक दलले विगतको सहमतिविपरीत गएर मस्यौदा गर्ने प्रयत्न गरेकाले आपत्ति प्रकट गरेको बताउनुभयो । बैठकमा संविधान मस्यौदा समितिले तयार पारेको मस्यौदा, दलहरूबीच भएको पछिल्लो सम्वाद तथा संविधान निर्माणमा विपक्षी दलका तर्फबाट पेश भएको असहमतिका विषयमा समेत छलफल भएको थियो । बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?