संविधानसभाको बैठक बस्न सकेन, शीर्ष नेताहरु विवाद मिलाउन प्रयासरत
संविधानको मस्यौदामा अनावश्यक रुपमा हेरफेर गरिएको भन्दै एमाओवादीले विरोध गरेपछि संविधानसभाको बैठक बस्न सकेको छैन । आजको बैठकमा संविधानको मस्यौदा प्रस्तुत गर्ने तय भएको थियो । तर, संविधान मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदामा बाँकी रहेका विवाद समाधान गर्न समय लागेका कारण संविधानसभाको बैठक सारिएको संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले बताएका छन् । बिहान ११ बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा बुझाउने कार्यक्रम तय भए पनि केही संवैधानिक भाषामा सहमति हुन नसकेपछि हालसम्म प्रतिवेदन बुझाइएको छैन । समितिले पारित गरेको मस्यौदाका केही शब्दावलीमा एकीकृत नेकपा(माओवादी) र मधेसकेन्द्रित् दलका सभासद्ले असहमति प्रकट गरेपछि छलफलको समय लम्बिएको हो । समितिले तयार पारेको प्रतिवेदनमा रहेका विवादित शब्द मिलाउन प्रमुख दलका शीर्ष नेताका साथैे दोस्रो तहका नेता द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त छन् । सभासद् भने बैठकको पर्खाइमा संविधानसभा भवन नयाँ बानेश्वरमा छन् । दलबीच बहुलवाद, धार्मिक स्वतन्त्रता । धर्मनिरपेक्षता, नागरिकता, पिछडिएका र सीमान्तकृत वर्गका विशेष संरचनालगायत विषयमा बढी विवाद रहेको बुझिएको छ । विवादित विषयमा सहमति जुटाउनका लागि अहिले सिंहदरबारमा प्रमुख दलको दोस्रो तहका नेता सक्रिय रूपमा लाग्नुभएको छ ।